काठमाडौँ । माघे सङ्क्रान्तिका बेला तरुल तुलनात्मक रूपमा धेरै खाइन्छ । माघे सङ्क्रान्ति, माघी पर्व र तरुल परिपूरक जस्तै मानिन्छन् ।
कालीमाटी तरकारी तथा फलफुल विकास समितिकाअनुसार नेपालमा फल्नेमध्ये झण्डै ९० प्रतिशत तरुल माघे सङ्क्रान्तिमा खपत हुने गरेको छ ।
माघे सङ्क्रान्तिबाहेक अरु बेला भने तरुल फाट्टफुट्ट मात्र बिक्री हुने गरेको छ ।
यस बेला खाइने तरुलका परिकार बाह्रै महिना खान सकिने मात्र नभइ औषधीजन्य गुण रहेको तरुल, स्वास्थ्यका लागि अति उपयोगी रहेको पोषणविद् बताउँछन् ।
माघे सङ्क्रान्तिमा तरुल खाने कुरा हाम्रो संस्कृनि नै बनिसकेको छ । पौष्टिक तत्वले भरिपूर्ण तरुल अरु बेला पनि खाजा वा तरकारीका रूपमा खान सकिन्छ ।
प्रशस्त कार्बोहाइड्रेट, खनिज, प्रोटिन र भिटामिन पाइने तरुल बाह्रै महिना खान पोषणविद् विनिता पन्तले सुझाव दिनुभयो ।
तरुलले बालबालिकाको मस्तिष्क र हड्डीको विकास तथा महिलाको हर्मोन सन्तुलन गराउन पनि मद्दत गर्ने विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।
चिल्लो कम हुने भएकाले तरुलले तौल घटाउन पनि सघाउँछ । तर कार्बोहाईटे«ड बढी हुने भएकाले मधुमेह, मिर्गौलालगायतको नियमति औषधी खाइरहेकाले भने डाक्टरको सल्लाहमा मात्र तरुल खाुनपर्ने पोषणविद् डाक्टर अनुश्री आचार्यको भनाइ छ ।
संसारमा ६ सय प्रजातिका तरुल पाइने भए पनि नेपालमा बन तरुल, सिमलतरुल, भ्याकुर, र घरतरुलका विभिन्न जात गरी १३ प्रजातिका पाइन्छन् ।
जङ्गल, पाखा, कान्ला, बारीमा सजिलै उम्रने र हुर्कने तरुल खेती गर्न र भण्डारण गर्न पनि सजिलो छ ।
तरुललाई उसिनेर र तरकारी पकाएर खाने चलन बढी छ । तर तरुलबाट झण्डै २ दर्जन परिकार बनाउन सकिने परिकारविद्हरू बताउँछन् ।
यससम्बन्धी अडिओ सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, माघ १, २०८०, ११:३१