काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च धेरै गर्ने परिपाटी चालू आर्थिक बर्षमा पनि कायमै रहने देखिएको छ । चालु आर्थिक वर्षका सुरुका ६ महिना अर्थात् गत साउनदेखि पुसमसान्तसम्ममा सरकारले करिब साढे ४८ अर्ब रुपैयाँ आम्दानीभन्दा बढी खर्च गरेको हो ।
महालेखा नियन्त्रकको कार्यालयले दिएको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको सरकारले पाँच खर्ब ६६ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेको छ ।
आर्थिक वर्षमा कुल १४ खर्ब ७२ अर्ब ४८ करोड र पुस मसान्तसम्म त्यसको ४५ प्रतिशत अर्थात् ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
पुँजीगत खर्च र वैदेशिक सहयोग तथा अनुदानको अवस्था पनि नाजुक छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान प्राप्त हुने लक्ष्य राखेकोमा गत पुससम्म ५।५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड मात्र प्राप्त भएको तथ्यांकले देखाएको छ ।
यो ६ महिनामा सरकारको समग्र खर्च ३२ दशमलव ३५ प्रतिशत छ । चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्ने लक्ष्य राखेको सरकारले पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च गरेको छ । चालु शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकोमा ३८।३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको महालेखाा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालु खर्चको तुलनामा विकास निर्माणलगायतका क्षेत्रमा जाने पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड विनियोजन भएकोमा जम्मा १६ दशमलव ३ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँ मात्र खर्च भएको छ
अर्थविद् तथा पूर्वअर्थसचिव डा. रामेश्वर खनालले अहिलेको अवस्था एकदमै आत्तिनुपर्ने वा खुशी हुनुपर्ने नभएको बताउनुहुन्छ । सीआईएनसँग कुराकानी गर्दै उहाँले आर्थिक बर्षका बाँकी ६ महिनामा सरकारको जोड राजश्व संकलनमा हुनुपर्ने बताउनुभयो । गतबर्षको तुलनामा कतिपय सूचक सकारात्मक भएकोले सरकारलाई राहत मिलेपनि त्यतिले मात्र नपुग्ने उहाँको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०, ०९:०५