काठमाडौँ । जाजरकोट भूकम्पका कारण प्रभावित नागरिकलाई सूचना र सिकाइ सीपको विकास गर्ने उद्धेश्यले सञ्चालित रेडियो कार्यक्रम ‘जीवन रक्षा’ ले सही सूचना उपलब्ध गराएर महत्वपूर्ण भूमिका खेलेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका छन् ।
रेडियो कार्यक्रममा उठाइएका विषयवस्तु, सम्बन्धित निकायले गरेका प्रतिबद्धता र कार्यान्वयनको अवस्थाका बारेमा गरिएको छलफलमा जाजरकोट जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले आफू कार्यक्रममा २ पटक सहभागी भएको जानकारी दिँदै त्यसपछि भूकम्प प्रभावित किसानको गुनासो र समस्याका बारेमा फोन आउनेक्रम बढेको बताउनुभयो ।
‘जीवन रक्षा’मार्फत भूकम्पपछि गरिने सहयोगको प्रक्रिया र कामका बारेमा जानकारी गराइएको छ । त्यसपछि मलाई फोन पनि धेरै किसानको आयो । प्रचारप्रसार भएका कारण धेरै किसानले सेवा पाएका छन् । हामी एक्लै भन्दा पनि सबै मिलेर अघि बढ्दा उपलब्धि हासिल गर्न सकिन्छ भन्ने राम्रो उदाहरण यो हो ।" निमित्त प्रमुख शर्माले भन्नुभयो ।
मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यररत संस्था सीएमसी नेपालका वरिष्ठ मनोविमर्शकर्ता टङ्कप्रसाद तिमिल्सेनाले आफूहरू भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा जाँदा रेडियो कार्यक्रम ‘जीवन रक्षा’ मा मनोवैज्ञानिक रूपमा कसरी सबल हुने भन्ने बारेमा गरिएको कुराकानी सुनेको प्रतिक्रिया पाउने गरेको बताउनुभयो ।
"शिक्षकहरूले पनि रेडियो सुनेर प्राथमिक मनोवैज्ञानिक सहयोगको विधि र प्रक्रियाका बारेमा जानकारी पाएको बताउनुहुन्छ ।" उहाँले थप्नुभयो ।
मालपोत कार्यालय जाजरकोटका प्रमुख डिल्ली केसीका अनुसार कित्ताकाट, अंशलगायतका कामका लागि हिजोआज दैनिक ८० देखि १०० को हाराहारीमा मिसिल अपलोड गर्ने काम भइरहेको छ ।
कार्यक्रम ‘जीवन रक्षा’ मा सहभागी भएर मालपोत कार्यालयले गरिरहेको काम र आगामी योजनाका बारेमा जानकारी गराउने राम्रो माध्यम पाएको अनुभव प्रमुख केसीले सुनाउनुभयो ।
भूकम्पपछि सेवाग्राहीलाई सदरमुकाम खलङ्गामा आउन समस्या भएको बारेमा कार्यक्रममा गुनासो सुनेको र कुनै स्थानीय तहले समन्वय गरेमा नापी र मालपोत कार्यालयले घुम्ती शिविरमार्फत सेवा दिने तयारी भएको उहाँको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका डा दया यादवले ‘जीवन रक्षा’ कार्यक्रम जनचेतना जगाउनका लागि भरपर्दो माध्यम भएको टिप्पणी गर्नुभयो । यो कार्यक्रमलाई निरन्तरता दिने बारेमा सम्बन्धित निकायले ख्याल गर्नुपर्ने उहाँको जोड छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका जाजरकोट प्रमुख रामप्रसाद पौडेलले सरकारी तथा गैरसरकारी निकायका विभिन्न तहबीचको समन्वय गर्ने काम ‘जीवन रक्षा’ ले गरेको धारणा राख्नुभयो ।
उहाँका अनुसार कार्यक्रममा खाद्यको केन्द्रीय नेतृत्वसँग पनि कुराकानी भएपछि मोटो चामल चाँडै पठाउने आश्वासन आफूहरूले पनि पाएको जानकारी प्राप्त भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख महेन्द्रकुमार भडेलले भने कार्यक्रम ‘जीवन रक्षा’मा सहभागी भएर कार्यालयले गरेका काम र बनाएका योजनाका बारेमा जानकारी दिएपछि सेवाग्राही सम्पर्कमा आउने सङ्ख्या बढेको अनुभव सुनाउनुभयो ।
"भूकम्पप्रभावित उद्योगी र व्यवसायीलाई सरकारले सहयोग गर्ने नीतिका बारेमा मैले जानकारी दिएको थिएँ । रेडियो कार्यक्रम सुनेर सम्पर्कमा आउने बढेका छन् । दुईचार जना मानिसले कुराकानी गरेर थप प्रक्रियाका बारेमा जानकारी लिनुभएको छ ।" प्रमुख भडेलले भन्नुभयो ।
शिक्षा सम्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले गाउँघरमा रहेका शिक्षण संस्थामा भूकम्पपछिको पठनपाठनको शैली, देखिएको समस्याका बारेमा जानकारी लिने र समाधानका लागि सूचनाजानकारी लिने माध्यमको रूपमा ‘जीवन रक्षा’ ले भूमिका खेलेको उल्लेख गर्नुभयो ।
कसरी पठनपाठन भइरहेको छ अनि कुनकुन संस्थाले कसरी काम गर्दैछन् भन्ने बारेमा पनि जानकारी लिएर प्रसारण गर्नुपर्ने उहाँको भनाइ छ ।
जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटका सदस्य सचिव तथा प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले रेडियो कार्यक्रम ‘जीवन रक्षा’ सञ्चालन गरेर सरोकारवाला निकायालई थप उत्तरदायी बनाउने काम भएको बताउनुभयो ।
सरोकारवालालाई बोलाएर छलफल गर्दा जनतालाई सुसूचित गर्ने काम भएको उहाँको भनाइ छ । "हामीले गर्नुपर्ने काम सीआईएनले गरेको छ ।" सदस्य सचिव शर्माले थप्नुभयो ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) को संयोजन रुकुम पश्चिम र जाजरकोटका रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गा जाजरकोटले कार्यक्रम ‘जीवन रक्षा’ उत्पादन गर्दै आएको छ । यो कार्यक्रम दुबै जिल्लाका ११ रेडियोले प्रसारण गर्छन् ।
सरोकारवाला निकायका प्रतिनिधिसँग गरिएको छलफल सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०, १८:५४