नवलपरासी । नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्षको जल पक्षी गणनामा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो । गत वर्षको गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए ।
संयोजक चौधरीका अनुसार पोहोर देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र पोहोर नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएका छन् । गत वर्ष देखिएका सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हली मुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस र श्वेत माछा यस वर्ष नभेटिएको र पोहोर नभेटिएका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठुलो जलरङ्ग र नारायणी नदीमा नै पहिलो पटक बैकाल गैरी यस वर्ष भेटिएको उहाँले बताउनुभयो ।
यस वर्षको चरा गणनका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । पक्षी गणना संयोजक चौधरीका अनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो ।नेपालमा बैकल गैरी चरा ठुला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको चाैधरीले बताउनुभयाे ।
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेकोमा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा फेला परेका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो ।
यो समयमा मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ । नेपालमा पाइने चराको सङ्ख्या बर्सेनि घट्दै गएको र यस वर्ष पनि दुई प्रजातिका चरा घटेको पाइएको चौधरीले बताउनुभयो ।
यस्तै, साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न आउने पाहुना चरामध्ये खोया हाँस सबैभन्दा धेरै आउने गरेकोमा यस वर्ष खोया हाँसको सङ्ख्या सँधै भन्दा आधाले घटेको उहाँले जानकारी दिनुभयो ।
खोया हाँसको प्रमुख वासस्थानको रूपमा रहेको बर्दघाट सुस्ता पूर्वतर्फको नारायणी नदीमा पानी सुकेका कारण खोया हाँसको सङ्ख्या घटेको उहाँको भनाइ छ । नारायणी नदीमा बढ्दो प्रदूषण, नदीमा पाइने आहारा घट्नु यहाँ आश्रित चराको सङ्ख्या घट्दै गइरहेको संरक्षणविदले बताउँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०, १६:११