काठमाडौँ । असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा प्रस्थान गर्नुभएको छ ।
बिहान सवा २ बजे कतार एयरलाइन्सबाट उहाँ युगाण्डा जानुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगाण्डाको राजधानी कम्पालामा हुँदैछ ।
शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयक सत्रलाई माघ ५ गते सम्बोधन गर्नेकार्यक्रम छ ।
यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’को अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०, ०८:५०