काठमाडौँ । जाजरकोट भूकम्पमा क्षति ब्यहोरेका र राहत तथा अनुदानका लागि लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएसँगै लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्यांक पठाएका हुन् ।
यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको संख्या थप भएको प्राधिकरणले जनाएको हो ।
सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ । उनीहरुको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख रुपैयाँ चाहिने अनुमान गरिएको छ ।
केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये शुक्रबारसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा एक अर्ब ९० करोड रुपैयाँ गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा एक अर्ब २६ करोड रुपैयाँ पुगिसकेको प्राधिकरणले जनाएको छ ।
हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने १० हजार घर निर्माणाधिन छन् ।
यसैविच खातामा रकम भएर पनि पुनर्निर्माणको काम किन प्रभावकारी रुपमा अघि बढ्न सकेन भन्नेबारे अध्ययनका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल नेतृत्वको टोली शुक्रबार जाजरकोट प्रस्थान गरेको छ ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०, ०७:१३