काठमाडाैँ । कोसी प्रदेशले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने तयारी गरेको छ ।
शनिवार बसेको कोसी प्रदेशको मन्त्रीपरिषद् बैठकले यसका लागि ‘कोसी प्रदेश बालबालिका संरक्षण नियमावली’ स्वीकृत गरेसँगै यो तयारी अघि बढेको हो । कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले अब केही अस्पताललाई यसका लागि केन्द्र तोक्ने तयारी गरिएको सीआईएनसँग बताउनुभयो ।
बैठकले प्रदेशको नाममा असहमति जनाउँदै आएको पक्षसँग छलफलका लागि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिव रहेको समिति गठन गरेको छ ।
गएको फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेश नम्बर १ को नाम कोसी राख्ने प्रस्ताव पारित गरेपछि पहिचान पक्षधरले सङ्घर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएको छ । वार्ता समिति संयोजक मन्त्री जबेगुले तत्काल आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्राचार गर्ने र सहमतिको खोजी गरिने जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०, १९:४७