काठमाडौँ । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज न्युजिल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे लन्डनमा सुरू हुने छ ।
१९ वर्षमुनिको विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक खेल्न लागेका हुन् । टेस्ट मान्यताप्राप्त देश न्युजिल्यान्डसँग यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले न्युजिल्यान्डसँग सन् २००६ मा भएको पहिलो खेलमा १ विकेटको जित हात पारेको थियो । २ सय ५ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो ।
सन् २०१६ मा बंगलादेशमा भएको १९ वर्षमुनिको विश्वकपको समूह चरणमा नेपाल ३२ रनले विजयी भएको थियो ।
नेपाल र न्युजिल्यान्डले ८ वर्ष पछि फेरि खेल्न लागेका हुन् । न्युजिल्यान्ड सन् १९९८ मा फाइनल र २०२० मा सेमिफाइनलमा पुगेको थियो । नेपाल भने प्रतियोगिताको अन्तिम आठ मा पुग्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
गत महिना यूएईमा भएको १९ वर्षमुनिको एसिया कपमा कमजोर प्रदर्शन गरेको नेपालले दक्षिण अफ्रिकामा भएका अभ्यास खेलमा भने राम्रो प्रदर्शन गरेको थियो । अभ्यासमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो ।
टोलिमा राष्ट्रिय टिमबाट खेलिसकेका देव खनाल र गुल्सन झा पनि रहेकाले नेपाली टीम अझ बलियो भएको र कम्तिमा दोस्रो राउन्ड पुग्ने गरी खेल्ने लक्ष्य लिएको प्रशिक्षक जगत टमाटाले बताउनुभयो ।
आजको खेल टोलीका लागि महत्त्वपूणर् रहेको उहाँको भनाइ छ । प्रतियोगितामा नेपाल रहेको समुहमा न्यूजिल्यान्डका साथै पाकिस्तान र अफगानस्तान रहेका छन् ।
नेपाली टोलीका सदस्य
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०, ०७:५९