काठमाडौँ । १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । ३०३ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो ।
नेपालका अर्जुन कुमालले सबैभन्दा धेरै ९० रन बनाउनुभयो । उहाँले १०४ बल खेल्दै १२ चौकाको सहयोगमा ९० रन बनाउनु भयो । यस्तै कप्तान देव खनालले ३६, दिपक बोहोराले १५ र आकाश चन्दले १४ रन बनाउनुभयो । सुबास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा अविजित रहनुभयो ।
लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डका सेन्हिथ रेड्डीले १४७ र कप्तान ओस्कर ज्याक्सनले ७५ रन बनाउनुभयो ।
नेपालका सुवास भण्डारीले तीन र गुलशन झाले दुई विकेट लिनुभयो । यस्तै दिपेश कण्डेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिनुभयो । प्रतियोगिताको समुह चरणमा नेपालले आउँदो बुधबार पाकिस्तानसँग खेल्ने छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०, २१:३१