भनिन्छ, सपना मनभित्रका कल्पनाहरूको संसार हो । मनले कल्पिएकै कुरा सपनामा दर्पण बनेर देखिन्छन् । मनोविद्हरू भन्छन्, अचेत मनको कुरा पनि बोलिदिने माध्यम हो सपना । तर नन्दमाया आले मगरको मनले सधैँ कल्पिरहेको एउटा अनुहार सपनाले कहिल्यै पहिल्याउन सकेन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ का सुरेश लामा २०७२ जेठदेखि बेपत्ता छन् । बुढ्यौलीले पछ्याउँदै गर्दा आमालाई आफ्नो एक्लो छोरा आँखा वरपरै देखिरहन मन छ । तर विडम्बना झन्डै साढे आठ वर्षदेखि छोरा बिपनामा त के सपनामा पनि देखा परेनन् ।
अचानक केही साताअघि नन्दमायाको बिपनाले नभए पनि सपनाले छोरा भेट्टायो । संयोग त्यही दिन प्रहरीले तपस्वी भनिएका रामबहादुर बमजन भेट्टाएको थियो ।
सपनामै भए पनि छोरा भेट्टाएर दङ्ग नन्दमायालाई एकाबिहानै रेडियोले बमजन समातिएको खबर सुनायो । वर्षौँपछि नै सही, सपनामा देखिएको छोरो अब बिपनामै भेटिन्छ भन्नेमा नन्दमाया ढुक्क हुनुहुन्छ ।
‘यही आँगनको बाटो उता पल्लो घरमा जाँदै थियो । किन किन मलाई छोरा आउँछ जस्तै लागेको छ’ हालैको एक दिन नन्दमायाले सीआईएनसँग सपनाप्रतिको भरोसा सुनाउनुभयो ।
बुबा हस्तबहादुर आले मगरका अनुसार बमजन बारास्थित आश्रममा रहँदा सुरेश उनका मुख्य सहयोगी थिए । त्यस बेला सुरेशको उमेर ३३ वर्ष थियो । प्राय बमजनसँगै रहने उहाँ भूकम्प गएको दुई दिन पछि अर्थात् २०७२ को वैशाख १४ गते घर आएका थिए ।
‘मसँग सानैदेखि खासै कुरा हुँदैनथ्यो, तर छरछिमेकमा अब जाँदिन, यतै बस्छु भन्थ्यो रे’ हस्तबहादुरले भन्नुभयो, ‘तर महिना दिन पनि घर बसेन ।’
एक महिना बित्दा नबित्दै सुरेशलाई आश्रमबाट बोलावट आएको भन्दै सोही वडाका जसबहादुर वाइबा लिन आए । सुरेश जसबहादुरकै साथ लागेर घरबाट निस्किए । कहाँ गए अत्तोपत्तो छैन ।
‘उति बेला सिन्धुपाल्चोक आश्रममा जाने भनेको थियो’, हस्तबहादुर सम्झिनुहुन्छ, ‘खाना पनि खायो नखायो जस्तै गरेर उठेर हिँड्यो । पछि सिन्धुपाल्चोकमा पनि भेटिएन, न सिन्धुलीमा न अन्त कतै ।’
सुरुमा परिवारले सोच्यो, हुर्केको छोरा आफ्नै इच्छाअनुसार धार्मिक आस्थामा लागेको छ, केही समयमा फर्किन्छ । तर आश्रममै रहँदा पनि महिना दिनमा घर आउजाउ गर्ने छोरो वर्ष दिनसम्म नफर्किएपछि बा आमाको मनमा चिसो पस्यो ।
सुरेशको बारेमा बताइदिन सक्ने एउटै व्यक्ति थिए जसबहादुर वाइबा, जसले सुरेशलाई घरबाटै लगेका थिए । परिवारले उनै वाइबासँग सोधखोज ग¥यो । तर वाइबाले सुरेश थाइल्यान्ड गएको हुन सक्ने बताए ।
हस्तबहादुर भन्नुहुन्छ, ‘थाइल्यान्डबाट आएका बमजनका अर्का एक अनुयायीसँग बाबुको राम्रो सम्बन्ध थियो । ऊ पनि हाम्रो घरमा आउने जाने भइरहन्थ्यो । न उसैसँग पो गयो होला उसको घरतिर भन्ने पनि लाग्यो ।’ थाइल्यान्डका अनुयायीसँग सम्बन्ध राम्रो रहेकाले जसबहादुरले भनेको कुरा ठिकै होला भन्ने हस्तबहादुरलाई लाग्यो । त्यही विश्वासमा गयो थप केही महिना पनि ।
एक दिन जसबहादुरले गाउँकै मानिसहरूबाट खबर सुन्नुभयो, ललितपुरको भैँसेपाटीमा बमजन समर्थकको ठुलो सभा हुँदै छ । यो २०७३ सालको कुरा । भनिएको थियो, लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका बमजन त्यही सभामा देखिनेछन् र सम्बोधन गर्नेछन् ।
‘छोरा त ‘बुद्ध’को सहयोगी थियो, ऊ आएपछि सुरेश पनि पक्कै आउँछ भनेर खुसी लाग्यो ।’ हस्तबहादुरले भन्नुभयो, ‘देश बिदेशबाट पनि सबै मान्छे आउँछन् । त्यो निकै ठुलो सभा हो भनेका थिए ।’
सुरेश थाइल्यान्ड नै गएको भए पनि ललितपुरमा जसै उपस्थित हुनेमा परिवार ढुक्क थियो । तर दिनभर नजर डुलाउँदा पनि सभामा सुरेशको अनुहार देखिएन । आँखा मलिन भए, मन चिसो भयो । जसबहादुरलाई लाग्यो, यति ठुलो सभामा नआएका सुरेश सहजै सम्पर्क हुने अवस्थामा छैनन् ।
कहिले सुरेश थाइल्यान्ड गएको हल्ला सुनियो, कहिले भारत त कहिले दक्षिण कोरिया । सुरेशको खोजी गर्न अब एक्ला हस्तबहादुरको जोर नचल्ने भयो । छिमेकीको सहयोगमा हस्तबहादुरले मिल्ने र सक्ने जति ठाउँ खोज्नुभयो, तर सबै कोसिसले हात लाग्यो शून्य ।
खोज्दै जाँदा सुरेशले राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुभएको पत्ता लाग्यो । तर आवेदन दिएर फर्किएका सुरेश राहदानी लिन फेरि प्रशासन गएकै छैनन् ।
‘पासपोर्ट बनाउन भनेको रहेछ, तर पासपोर्ट त जिल्लामै छ भनेको छ, बिना पासपोर्ट कसरी विदेश जान मिल्छ ?’ हस्तबहादुर भन्नुहुन्छ, ‘जसबहादुरले हामीसँग झुट बोल्यो । सुरेश बाहिर गएकै छैन ।’
अध्यागमन विभागमा पनि सुरेशले देश छोडेर गएको कुनै जानकारी नभेटिएपछि उहाँले जसबहादुर वाइबा विरुद्ध २०७५ साल पुस १३ गते प्रहरीमा उजुरी दिनुभयो । उजुरीपछि जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका जसबहादुरले सुरेशलाई आफूले घरबाट पाँच किलोमिटर उत्तरमा रहेको पूर्वपश्चिम राजमार्गसम्म लगेको र गाडी चढाएर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा पठाएको जवाफ दिए ।
जसबहादुरका अनुसार बमजनले सुरेशलाई आश्रम पठाइदिन भनेका थिए । त्यसपछिको घटनाक्रमबारे आफै पनि जानकार नरहेको बयान दिएका उनलाई प्रहरीले तत्कालै छोडिदियो । त्यहाँबाट निस्किए लगत्तै फरार वाइबा अहिलेसम्म सम्पर्कमा छैनन् । छोराको अवस्था बताउन सक्ने एउटै मानिस पनि बेपत्ता भएपछि आले परिवारमा झन् छटपटी बढ्यो अनि वाइबामाथिको शङ्का पनि ।
‘हामीले अरू जान्ने कुरा पनि भएन, मेरो छोरा खोइ ? भनेर लगेकै मान्छेलाई सोध्ने हो ।’ हस्तबहादुर भन्नुहुन्छ, उसले उहाँ पठाएको भन्छ, उता छैन भन्छ । मेरो छोरा त चाहियो त । जसबहादुरलाई समातेर यही कुरा सोध्न मन छ ।’
छोरालाई लिएर जाने जसबहादुरलाई समातेर केरकार गर्न पाए सुरेशको अवस्था खुल्ने थियो कि भन्ने आशा हस्तबहादुरको मनमा अझै छ । तर जसबहादुर नै सम्पर्कविहीन भएको उहाँ बताउनुहुन्छ । प्रहरीले सोधपुछ गरेपछि प्रहरी कार्यालयबाट बाहिरिएका जसबहादुर सम्पर्कविहीन भएपछि सुरेशका बा आमालाई मात्र होइन गाउँलेलाई पनि घटना थप शङ्कास्पद लागेको छ ।
‘वाइबाको कुरा मान्ने हो भने सुरेश आश्रमसम्म पुगेको भन्ने छ । त्यसो भए कहाँको आश्रममा पुग्यो ? कसरी बेपत्ता भयो ? यो कुरा हामीलाई त जानकारी हुनुपर्यो’ हस्तबहादुरले भने ‘तर कसैले पनि जिम्मेवारी लिएका छैनन् । प्रहरी प्रशासनले समेत वास्ता गरेको छैन ।’ रामबहादुर बमजन पक्राउ परेपछि अब सुरेशसम्म पुग्ने बाटो खुल्ने आशामा आले परिवार छ । जसबहादुरले बमजनकै आग्रहमा आश्रम पठाएको बयान दिएर हराए । अब हस्तबहादुरलाई प्रहरी हिरासतमा रहेका बमजनसँग आँखामा आँखा जुधाएर सोध्न मन छ, मेरो छोरा खोइ ?
रामबहादुरमाथि अभियोग नै अभियोग
सुरेश आले मगर रामबहादुर बमजनका मुख्य सहयोगी रहेकाले उनी बेपत्ता भएपछि आश्रमकै अरू व्यक्तिले पनि चासो राख्नुपर्नेमा अहिलेसम्म उनीहरू मौन छन् । मौनताको सङ्केत के हो, खुल्न सकेको छैन । तर आफ्ना मुख्य मानिस हराएर आफैमाथि आरोप लाग्दा समेत बमजन नखुल्नु अर्थपूर्ण छ ।
उसो त बमजनमाथि एक मात्रै अभियोग छैनन् । २०६२ जेठ २ गते बाराको रतनपुरीस्थित जङ्गलमा एकाएक रुख मुनी मुद्रामा फेला परेका उनले सुरुका ६ महिना कठोर तपस्वीको परिचय बनाएका थिए । तर त्यसपछि भने बमजन अभियोग नै अभियोगमा मुछिएर हिँडिरहेका छन् ।
१.चुन्मो भन्ने कर्मा तामाङ बेपत्ता:
नुवाकोटको मेघाङ गाउँपालिका वडा नं. ३ की चुन्मो भन्ने चिनीमाया तामाङ २०६९ असोजदेखि बेपत्ता छन् । उनी बमजनको सिन्धुपाल्चोकस्थित बाडेगाउँमा रहेको आश्रमबाट बेपत्ता भएको परिवारले जनाएको छ ।
२.डोल्मो भन्ने फुलमाया रुम्बा बेपत्ता:
मकवानपुरकै हेटौडा नगरपालिका १६ हटियाकी डोल्मो भन्ने फुलमाया रुम्बा २०७१ माघदेखि बमजनको सिन्धुपाल्चोकस्थित आश्रमबाटै बेपत्ता रहेको परिवारले जनाएको छ ।
३.सन्चलाल वाइबा बेपत्ता:
मकवानपुर हेटौडा उपमहानगरपालिका १३ का सन्चलाल वाइबा २०७१ चैतदेखि बमजनको सिन्धुपाल्चोक आश्रमबाटै बेपत्ता ।
४.रिता बोट बेपत्ता:
सर्लाही बागमती नगरपालिका काजीराम टोलकी रिता बोटपनि बेपत्ता छिन् । उनी बमजनसँग नजिक थिइन् । बमजन रिताको घरमा समेत आउने गरेका थिए ।
६.बलात्कार आरोप: रौतहटकी एक युवतीले पत्रकार सम्मेलन गरेर बमजनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले पत्रकार सम्मेलन गरेर बमजनको आफूमाथि गरेको दुर्व्यवहार सार्वजनिक गरेकी थिइन् ।
५. विदेशी महिला बन्धक:
बमजनको हलखोरियास्थित तपस्यास्थलमा स्लोभाकियाकी मारिची नामकी एक महिलालाई तीन महिना बन्धक राखियो । तपस्या स्थलभित्रकै एक व्यक्तिले दिएको सूचनाको आधारमा समाचार सार्वजनिक भएपछि मारिचीलाई मुक्त गरिएको थियो ।
६.आनी बन्धक:
स्लोभाकियाकी मारिचीसँगै निजगढ ८ की एक महिला पनि बन्धक बनाएर राखिएको थियो । आनी भनेर चिनिने महिलालाई प्रहरीको उपस्थितिमा हलखोरियाबाट सार्वजनिक गरिएको थियो ।
७.दोहोरो जन्मदर्ताः
रामलाल बमजनको नाममा जन्म दर्ता बनाएका उनले धर्म सङ्घ बमजनको नाममा दोस्रो पटक जन्म दर्ता बनाएका थिए । उक्त जन्म दर्ता अनुसार नागरिकता र रातो पासपोर्ट समेत उनले माग गरेका थिए ।
८.तपस्या स्थलमै १७ सर्वसाधारणलाई कुटपिट:
जङ्गलमा च्याउ खोज्न गएका बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको महर्वाका १७ जना सर्वसाधारणलाई बमजनले २०६७ साउनमा कुटपिट गरे । तपस्या भङ्ग गर्न आएको भन्दै उनले कोर्रा प्रहार गरेको बयान पीडितले प्रहरीलाई दिएका थिए ।
९. युवकमाथि तरबार प्रहार:
बमजनले २०६३ सालमा हलखोरिया जङ्गलमा रतन पुरीका एक स्थानीय युवामाथि तरबार प्रहार गरे । तपस्या भङ्ग गर्न खोजेको भन्दै बमजनले युवालाई तरबार प्रहार गरेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०, १९:५५