हुम्ला । हुम्लाकी धनकली दमाईको ‘दानसिंह सिलाइ–कटाई उद्योग’ छ । घरेलु तथा साना उद्योग विकास समितिले आर्थिक वर्ष २०७५/७६ मा १ लाख अनुदान स्वीकृत गर्यो ।
गएको असार १३ गते चेक भुक्तानी दिएकै दिन धनकलीले ३७ हजार ५ सय रकम कार्यालयका सहयोगीमार्फत कर्मचारीलाई बुझाउनुपर्यो ।
३९ दिनअघि घरेलु तथा साना उद्योग विकास समितिको बैठकले धनकलीलगायत अरू सातवटा घरेलु तथा साना उद्योगलाई पनि अनुदान दिने निर्णय गरेको थियो ।
सदरमुकाम सिमकोटमा सिलाई–कटाई व्यवसाय गर्दै आएकी लछु भण्डारीको १ लाख अनुदान स्वीकृत भयो । तर विभिन्न बहानमा ३१ हजार बुझाउनुपरेको लछुको भनाइ छ ।
धनकली र लछु मात्रै होइन् आर्थिक वर्ष ०७५।०७६ मा युवा तथा लक्षित वर्गको उद्यमशीलता विकास अनुदान कार्यक्रममार्फत अनुदान लिने अधिकांश साना उद्योगी व्यापारी पनि पीडित छन् ।
घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले न्यूनतम ७ हजारदेखि अधिकतम ८० हजारसम्म लिएको पीडितहरू बताउँछन् ।
कर्णाली प्रदेशकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको कार्यक्रमको बजेटबाट घरेलुका कर्मचारीले कमिसन लिएको पीडितको भनाइ छ ।
घरेलु तथा साना उद्योग विकास समिति कार्यालय हुम्लाले जिल्लाका ४२ जनाको नाममा ७० लाखभन्दा धेरै रकम स्वीकृत गरेको छ । तर ठूलाबडा, नेता कार्यकर्ता, उनीहरुका आफन्त छोडी दलित र महिलाबाट मात्रै कर्मचारी घुस लिने गरेको पाइएको छ ।
यस बारेमा कार्यालयका लेखापाल सन्तोष कार्कीले भन्नुभयो,‘ मैले जानजान त्यस्तो कुनै गल्ती गरेको छैन । चेकबाट नै भुक्तानीको व्यवस्था मैले गरेको थिएँ । मेरो यसमा कुनै दोष छैन ।’
अध्ययन गर्दै जाँदा के भेटियो भने कर्मचारीले सीधै रकम नलिएर कार्यालय सहयोगीलाई प्रयोग गर्ने गर्दा रहेछन् । अनुदान पाएका सेवाग्राहीबाट राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाबाटै नगद लिएर कार्यालयका लेखापाललाई बुझाउने गरेको कार्यालय सहयोगी वृष बोहराको कुरा सुन्दा यो पुष्टि हुन्छ ।
‘मैले त लाए, अह्राएको काम गर्ने हो । पैसा लगेर बुझाउने गरेको हुँ । खाना बना भन्दाखेरी बनाउनुपर्यो । यस्तो काम गर भन्दा गर्नै पर्यो ।’ बोहराले भन्नुभयो ।
थोरै लगानीबाट धेरै आम्दानी गर्ने सोँचका साथ व्यापारव्यवसाय गर्ने महिला तथा दलितहरूको योजना थियो । तर आधाभन्दा धेरै रकम कर्मचारीलाई बुझाउनु परेको तीतो तथ्य सार्वजनिक भएको छ । जिल्ला समन्वय समितिका प्रमूख दानबहादुर रावत यसबारे तत्काल छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ ।
घरेलु तथा साना उद्योग विकास समिति कार्यालय हुम्लाले जिल्लाका ४२ जनाको नाममा ७० लाखभन्दा धेरै रकम स्वीकृत गरेको छ । तर ठूलाबडा, नेता कार्यकर्ता, उनीहरुका आफन्त छोडी दलित र महिलाबाट मात्रै कर्मचारी घुस लिने गरेको पाइएको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६, ०७:४०