काठमाडाैँ । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे इस्ट लन्डनमा सुरु हुनेछ ।
पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने दबाब छ ।
पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो । पाकिस्तान आजको खेल जित्दै १ खेल अघि नै अर्को चरण प्रवेसको सम्भावना बलियो बनाउन चाहन्छ ।
गत महिना भएको १९ वर्षमुनिको एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
सन् २००२ मा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको थियो । सन् २०१६ मा भने पाकिस्तान विजयी भएको थियो । सन् २००० मा भने खेल रद्द भएको थियो ।
प्रतियोगिताको समूह डी मा नेपाल न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँगै रहेको छ। समूहको शीर्ष ३ स्थानमा रहने टोली 'सुपर सिक्स'मा पुग्नेछन् ।
नेपाली टोलीः देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक भण्डारी, आकाश चन्द ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०, १०:५१