तेह्रथुम । कवि तथा सामुदायिक रेडियोकर्मी भगिश्वर लिम्बुको कविता सङ्ग्रह थोःक्ला विमोचन गरिएको छ । वसन्तपुरमा आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री सीता गुरुङले कविता सङ्ग्रह विमोचन गर्नुभएको हो । कविता सङ्ग्रह विमोचन गर्दै मन्त्री गुरुङले साहित्य सिर्जनाको जगेर्ना र सर्जक प्रोत्साहनका लागि स्थानीय सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनुभयो ।
लिम्बु समुदायमा भाषा, लिपी, कला, साहित्य र संस्कृतिप्रति मोह घट्दै गएका बेला मातृभाषाको कविता कृति प्रकाशन गर्नु महत्त्वपूर्ण रहेको मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङ्ले बताउनुभयो ।
कविता सङ्ग्रहमा ३५ वटा कविता समावेश गरिएको र कविताले लिम्बु समुदायमा रहेका मौलिक र वास्तविकताको भाव बोकेको कवि लिम्बुले बताउनुभयो । कविता सङ्ग्रहले पछिल्लो पिँडीका साहित्यानुरागी माझ कविताको मोह बढाउने विश्वास लिएको बताउनुभयो ।
लिम्बु भाषाको थोःक्ला शृजङ्गा र देवनागरी लिपिमा पनि प्रकाशित छ । चेली माइती बिच आर्थिक उपार्जनको अपेक्षाले चेलीले माइतीलाई दिने उपहारलाई लिम्बु भाषामा थोःक्ला भनिन्छ ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन म्यानेजर तथा पत्रकार महासङ्घ तेह्रथुमका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०, १६:१२