काठमाडाैँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल पक्राउ परेका छन् ।
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वेमा भ्रष्टाचार गरेको अभियोग लागेका दुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । अख्तियारको टोलीले आज दुबै जनाका निवासमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको र उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारले गत असोज १५ गते सुनील पौडेलसहितविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएका व्यक्तिमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरू निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायक अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीलगायत छन् ।
त्यसअघि विकल पौडेलसहितकाविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।
तर मुद्दा दायर गरेपछि पनि थप भ्रष्टाचार जन्य गतिविधि गरेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०, १७:००