सिर्जना घिमिरे, रेडियो रामपुर, पाल्पा
पाल्पा । स्याङ्जाको चापाकोट नगरपालिका ४ लग्दाका प्रेमबहादुर सिंह ठकुरी कफी खेतीमा लागेकाे ८ वर्ष भयो । उहाँ लग्दाबाट रामपुर नगरपालिका ५ भम्बकमा पुगेर २०७८ सालदेखि अर्ग्यानिक कफी उद्योग दर्ता गरी कफी खेतीमा लाग्नुभएको हो । उहाँलाई कफी, सुकाउने, छोडाउने, ग्रेडिङ् गर्ने, भुट्ने, धुलो बनाउने तथा प्याकिङ गर्ने जस्ता काममा भ्याइनभ्याइ छ । उहाँको घरमा अहिले प्रशस्त मात्रामा कफीका बिरुवा तथा दाना र प्याकिङ कफीको धुलो देख्न सकिन्छ ।
गाउँमा झरेर जाने कफीलाई प्रशोधन गरेर बिक्री गर्न सके गाउँमै पनि राम्रो आम्दानी गर्न सकिने उद्देश्यले स्याङ्जाको चापाकोट नगरपालिका ७ लग्दादेखि रामपुर आएर व्यवसाय चलाउनुभएको हो ।
स्याङ्जा, तनहुँ तथा पाल्पाकै पनि केही ठाउँमा उत्पादन भएको कफी खरिद तथा प्रशोधन गरी स्वदेशी बजारमा बिक्री गर्ने प्रेमबहादुरको भनाइ छ ।
करिब ११ वर्षको विदेश बसाइले गाउँमै फर्केर कृषि कर्ममा लाग्न सिकाएको अनुभव सुनाउँदै ठकुरी नेपालमा काम गर्न सके कृषिबाट प्रशस्त सम्भावना रहेको बताउनुहुन्छ ।
कोरियामा काम गर्ने क्रममा नेपाली कफी त्यहाँसम्म पुगेको बारेमा थाहा पाउनुभएको थियो । गाउँघरमा कफी कति झरेर खेर जान्छ, यसैलाई उपयोग गर्न सके त आम्दानी पो गर्न सकिन्छ भन्ने मनमा लागेर गाउँ फर्केपछि उत्पादन, बिक्री वितरणमा लागेको उहाँले उल्लेख गर्नुभयो ।
करिब ३५ लाख लगानीमा मेसिन खरिद गरी कफी उत्पादन गरेको ठकुरीको भनाइ छ । उहाँले तयार गरेको कफी कोरिया, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ लगायत बजारमा बिक्री हुने गरेको छ ।
पछिल्लो समय कफी २ हजारदेखि २ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको पाइन्छ । गाउँघरमा अर्ग्यानिक कफी उत्पादन गर्न सके, स्थानीय सीप र साधनको विकास हुने, पर्यटकीय क्षेत्र निर्माण गर्न सकिने, जलवायु परिवर्तन तथा भूक्षय रोकथाम हुने, भावी पुस्तालाई नयाँ खालको ज्ञान सिपको विकास गरी स्वदेशमै आत्मनिर्भर बन्न अभिप्रेरित गर्न सकिने प्रेमबहादुरको बुझाइ छ ।
घरभरि कफी छ । यसको माग बजारमा भए पनि बिक्रीका लागि उपयुक्त माध्यम नभएको गुनासो उहाँले गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०, १३:४२