काठमाडाैँ । सन्तोषी श्रेष्ठले म्याराथन दौडको आफ्नो पहिलो प्रतिस्पर्धा मै स्वर्ण पदक जित्नुभएको छ । उहाँले बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ पहिलो हुँदै स्वर्ण पदक जित्नुभएको हो । निर्धारित दुरी उहाँले २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा पूरा गर्दै उहाँले यसअघि पुष्पा भण्डारीकाे नाममा रहेकाे २ घन्टा ४८ मिनेट ०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्नुभएको छ ।
सन्तोषीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्नुभएको थियो । हाफ म्याराथन, १० हजार मिटर, ५ हजार मिटर लगायत स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सन्तोषीले फूल म्याराथनमा भाग लिएको यो पहिलो पटक हो । मंसिरमा भएको नेपालगञ्ज हाफ म्याराथनमा उहाँ पहिलो हुनुभएको थियो ।
यही स्पर्धामा एपीफकी पुष्पा भण्डारीले रजत पदक जित्नुभएको छ । उहाँले दुरी २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्नुभएको प्रशिक्षक राकेश बज्राचार्यले जानकारी दिनुभयो ।
सन् २०१९ मा नेपालमा भएको १३ औं साग खेलकुदमा सन्तोषीले १० हजार मिटरमा स्वर्ण पदक जित्नुभएको थियो । प्रतियोगिताको पुरुषतर्फ नेपालका खड्गबहादुर खड्काले कास्य पदक जित्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०, १४:३८