काठमाडौँ । सुदूरपश्चिम हुँदै गण्डकी प्रदेशसम्म पर्सि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
उक्त दिन चिसो बढ्ने भएकाले सावधानी र सतर्कता अपनाउन महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले सीआईएमार्फत अनुरोध गर्नुभयो ।
आज भने बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
देशका तराईका अधिकांश भागमा हुस्सु लागेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।
आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०, ०९:२९