काठमाडौँ । नेपालमा पहिलो पटक डाक्टरसहित सम्पूर्ण स्वास्थ्यकर्मी नेपाली रहेको टोलीले कलेजोको प्रत्यारोपण गरेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक र अन्य स्वास्थ्यकर्मी टोलीले कलेजो प्रत्यारोपण गरेको टोलीका अगुवा तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिनुभयो ।
गत पुस २७ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार ४१ वर्षीय पुरुषलाई ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गर्नुभएको हो । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
डा. भण्डारीले भने यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठुलो सफलता भएको र सबैको अथक प्रयासले यो सम्भव भएको बताउनुभयो ।
नेपालमा पहिलो पटक २०७३ साल मङ्सिर २२ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो। उक्त प्रत्यारोपणमा दक्षिण कोरियाबाट आएका शल्य चिकित्सकको टोली सहभागि थियो । त्यसयताका सबै प्रत्यारोपणमा विदेशका विशेषज्ञ संलग्न रहँदै आएका थिए । यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि २०७६ जेठ १७ गते पहिलो पटक भारतीय विशेषज्ञ टोलीको सहायतामा पहिलो प्रत्यारोपण गरिएको थियो। त्यसयता अस्पतालमा १० जनाको प्रत्यारोपण गरिए पनि ती सबै विदेशी विशेषज्ञको सहयोगमा भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०, १२:४३