काठमाडाैँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणकाे अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज व्यवसायी अरुण चौधरी, छालाजुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायण थापा र कारखाना सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको हो ।
चाैधरी उद्योगी तथा सांसद विनोद चाैधरीका भाइ हुन् । यस्तै थापा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका नातेदार हुन् ।
कारखानाको १० रोपनी जग्गा चौधरी ग्रुपअन्तर्गतको चाँदबाग स्कुल र चौधरी होल्डिङ्स कम्पनीले हडेपेकोबारे तीन महिनादेखि अनुसन्धान गरिरहेको सीआईबीले आज तीन जनालाई पक्राउ गरेको हो ।
यसैबिच पक्राउ परेकामध्ये दुई जनालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले गरेको चार दिन म्याद थप गर्ने सिफारिसअनुसार अदालतले चार दिन म्याद थप्न अनुमति दिएको हो । ठाकुरलाई भने भोलि मात्र अदालतमा पेश गरिने सीआईबीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०, १७:५९