सुर्खेत । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका लागि 'प्रशंसनीय खोज' तालिम सम्पन्न भएको छ ।
दुई चरणमा गरी ६ दिनसम्म सञ्चालन भएको तालिममा प्रमुख तथा उपप्रमुख गरी ५२ जनाको सहभागिता थियो ।
पालिकाको नेतृत्वमा यथास्थितिमा क्रमभङ्गता गरेर पालिकाको आमुल रुपान्तरण गर्न नयाँ ज्ञान, सीप र दक्षता विकास गर्न कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले यही माघ १२ देखि १७ गतेसम्म दुई चरणमा तालिमको आयोजना गरेको थियो ।
तालिममा नयाँ दृष्टिकोण निर्माणका आधार कसरी खोज्ने भन्ने वारेमा प्रशंसनीय खोज दृष्टिकोणका ५ डि मोडेलको प्रयोग गरिएको थियो ।
तालिमका क्रममा जननिर्वाचत आधुनिक कर्णाली, समृद्ध, समाजिक न्याय र समावेशी प्रणाली भन्ने साझा दृष्टिकोण (सपना) निर्माण गरिएको थियो ।
कर्णाली प्रदेशका पालिकाहरूका नयाँ दृष्टिकोण विकास गर्न सक्छ भनेर नै तालिमको आयोजना गरिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा कर्णाली सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव विष्णु कोइरालाले बताउनुभयो ।
एक चरणमा ३ दिन गरी दुई चरणमा जम्मा ६ दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण प्रशंसनीय खोज विधिका प्रशिक्षक डा राम चन्द्र लामिछानेले गर्नुभएको थियो ।
तालिममा पालिकाहरूले गरेका नयाँ प्रयास र सफलताहरुको प्रशंसनीय दृष्टिकोणबाट खोजबिन गरेर जनप्रतिनिधि, कर्मचारी, स्थानीय जनसमुदाय, भुगोल, ऐन, कानुन, नियम आदि सबैतिर छरिएर रहेका सकारात्मक तत्वहरुको खोजबिन गरिएको र हामीले नै सकारात्मक रुपान्तरण गर्न सक्दछौँ भन्ने आधार निर्माण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०, १०:०७