काठमाडौँ । नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने निश्चित भएको छ । राष्ट्रिय महिला फुटबल टोलीको महत्तवपूर्ण सदस्य रहेकी साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेसँगै फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने निश्चित भएको हो । साम्बा आवद्ध इजरायलको हापोएल रानाना क्लव र फ्रान्सेली क्लब ग्वेंगाम्पको सहमति भएपछि साम्बा सोमबार फ्रान्स जानुभएको थियो।
क्लबले उहाँको अनुबन्ध घोषणा गर्दै सावित्राले २८ नम्बर जर्सी लगाउने जनाएको छ। साम्बाको पारिश्रमिकबारे भने केही उल्लेख गरिएको छैन । ग्वेंगाम्पले शनिबार बोर्डो क्लबसँग खेल्दै छ ।
१२ खेलमा ८ अङ्क जोडेको ग्वेंगाम्प लिगको दशौं स्थानमा छ ।
फ्रान्सेली लिग महिला फुटबल विश्वकै उत्कृष्ट मध्यको एक हो । फ्रान्समा साम्बाले सिक्ने अनुभव नेपाली महिला फुटबल टोलीका लागि पनि उपयोगी हुने विश्वास फुटबल प्रेमीले गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०, १२:२६