काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले व्यवसायी अरुण चौधरीसहित तीन जना पक्राउ पर्नुको कारणबारे जानकारी गराएको छ । शुक्रवार पत्रकार सम्मेलन गरी ब्युरोले सीजी होल्डिङ्सका अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र महाप्रबन्धक सञ्जय ठाकुरलाई मुलुकी अपराध संहिता अनुसार ठगीमा अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ। ब्युरोले सरकारको निर्णयविना बेच्नै नपाइने बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा सञ्चालक समितिले आफूलाई फाइदा र सरकारलाई घाटा हुने गरी हिनामिना गरेको पनि बताएको छ ।
मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७साल कात्तिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको काठमाडौँ जिल्ला साबिक नगर २२ (छ) को कित्ता नम्बर ५० को १८रोपनी ३ आना २ पैसा जग्गा तत्कालिन श्री ५ को सरकारको निर्णयबिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानुन विपरीत सञ्चालक समितिले आफूलाई फाइदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले काम गरेको ब्यूरोले जनाएको छ ।
ब्युरोले निकालेको विज्ञप्तिमा २०४३ साल भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापाले अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरी कारखानाको नाममा स्रेस्ता कायम रहेको जिल्ला काठमाडौँ साबिक नगर २२ (छ) कित्ता नम्बर ५० को १८ रोपनी ३ आना २ पैसा जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको बताइएको छ । ‘च्याम्पियन फुट वेयर लिमिटेडको ५० लाख पुँजीको २५ प्रतिशत शेयर लिने सहमति बमोजिम साढे १२ लाख रुपैयाँ मात्र लगानी गर्नुपर्नेमा २६ लाख २ सय ७८रुपैयाँ लगानी गरी सरकारलाई नोक्सानी पुर्याई आफूहरूले आर्थिक लाभ लिएको पनि दाबी गरिएको छ ।
यसबारे साबिक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागि ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको सीआईबीले जनाएको हो । पक्राउ परेका चौधरी र थापा स्वास्थ्योपचारका लागि भन्दै अस्पतालमा भर्ना भएका छन् भने ठाकुरलाई सीआईबीको हिरासतमै राखिएको छ । उनीहरूलाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०, १७:४९