पोखरा । २३ औँ आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिवार भएको फाइनलमा थ्रीस्टार क्लवलाई ३–० ले हराउँदै आर्मीले उपाधि उचालेको हो । आर्मीले उपाधिसँगै १२ लाख १ हजार रुपैयाँ र उपविजेता थ्रीस्टारले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
आर्मीको जितमा जिलेप्सीजङ्ग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गर्नुभयो । आर्मी यसअघि ४ पटक फाइनलमा पुगेर पनि उपाधि भने जित्न सकेको थिएन भने थ्रीस्टारले ६ पटक फाइनल खेलेकोमा पाँच पटक उपाधि जितेको छ ।
थ्रीस्टार प्रतियोगिताको फाइनलमा पहिलोपटक पराजित भएको हो । उपाधि जितेसङ्गै आर्मीका खेलाडी र प्रशिक्षकले विधागत पुरस्कारमा बर्चश्व जमाएका छन् । आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित उत्कृष्ट डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र प्रशिक्षक विधामा पुरस्कार पाएको छ ।
आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी उत्कृष्ट रक्षकको पुरस्कार पाउनुभयो । आर्मीकै दिनेश हेमजन प्रतियोगिताको सर्वाधिक गोलकर्ता आर्मीकै विमल पाण्डे बेस्ट डिफेन्डर, जिलेप्सीजंग कार्की बेस्ट फरवार्ड र आर्मीलाई पहिलो पटक आहा राराको उपाधि जिताएका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । आर्मीकै भरत खवास र थ्रीस्टारका गोल रक्षक पब्लिक च्वाइस अवार्ड पाएको प्रतियोगितामा आर्मीका गोल रक्षक समित श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्नुभयो ।
प्रतियोगितामा फेयर प्ले अवार्ड जावलाखेल युथ क्लबले र बेस्ट मिडफिल्डर थ्रीस्टारका विवेक पौडेलले जित्नुभयो ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०, १७:४८