पाल्पा । बेसार नबिकेपछि पाल्पाका किसान समस्यामा परेका छन् ।
बाँदर, बँदेल, दुम्सीजस्ता वन्यजन्तुले अन्नबालीमा क्षति पुर्याउन थालेपछि किसानले वैकल्पिक बालीका रुपमा बेसार खेती गरेका थिए ।
बाली लगाउन पनि सजिलो र वन्यजन्तुले नष्ट पनि नगर्ने भएकाले उत्साहका साथ बेसार खेती गर्न थालेका पाल्पाका किसान बेसार नबिक्दा समस्यामा परेका हुन् ।
अहिले बेसार खन्ने समय भए पनि बिक्री नहुने भएपछि बेसार खन्ने कि नखन्ने भन्ने दोधारमा परेको तानसेन ८ मदनपोखराकी ढाकाकुमारी पङ्गेनीले बताउनुभयो ।
उहाँले करिब ४ रोपनी जग्गामा २ सय किलो बेसार रोप्नुभएको छ । पहिलेपहिले घर खर्चका लागी बारीको छेउछाउमा मात्र बेसार लगाउने लक्ष्मी अर्यालले पोहोर साल १ सय किलो बेसार रापेको बताउनुभयो ।
छरछिमेकमा कसैको बेसार नबिकेपछि बेसार बारीमै छोडेको अर्यालको भनाइ छ ।
हेफर रिड नेपाल र तानसेन नगरपालिकाले बीउ सहयोग गरेपछि मदनपोखराका किसानले बेसार खेती गरेका थिए ।
बीउ सहयोग गर्ने निकायले नै बजारको खोजी गरि सहयोग गर्नुपर्ने किसानहरू बताउँछन् । नेपाल बेसारमा आत्मनिर्भर हुन सकेको छैन ।
गएको साउन यताका ६ महिनामा नेपालमा १४ करोड ३९ लाख ८९ हजार रुपैयाँको ६ सय ८८ मेट्रिक टन बेसार आयात भएको छ ।
भारत र इथियोपियाबाटसमेत बेसार आयात हुनु तर नेपालमै उत्पादित बेसार भने नबिक्नु अचम्म लाग्दो भएको किसान बताउँछन् ।
यसबारेको रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०, १०:२८