समय गलत हुँदैन । गलत त काम हुन्छन् । समय सही हुँदैन । सही त काम हुन्छन् । समयलाई कर्मले सही वा गलत बनाउँछ । कुराकानीकै सन्दर्भमा, रैथाने खानाका अभियन्तासमेत रहनुभएका सेफ प्रेमलाल घिसिङ भन्नुहुन्थ्यो, ‘कहिलेकाहीँ गलत समयमा गरेको सही काम पनि गलत भइदिन्छ, अनि कहिलेकाहीँ सही समयमा गरेको गलत पनि सही भइदिन्छ ।’
अहिले उहाँ यस्तै यस्तै परिस्थितिको परिबन्दमा हुनुहुन्छ । २०७६ को असोज १३ गते देशव्यापी ‘फुड टुर’ मा ननिस्केको भए, सायद यस्तो अवस्था आउने पो थिएन कि ? त्यसो भए अहिले के भयो ? सेफ घिसिङलाई ।
दुई तीन वर्ष यता घिसिङलाई खासै सन्चो थिएन । नेपाली रैथाने खानाको खोजका लागि लाखौँ रुपैयाँ खर्चेर देश दौडाहा लाग्नुभएका घिसिङको बास अहिले चाबहिलको मेडिकेयर अस्पतालमा छ । केही महिना अघि मात्रै उहाँलाई पेटको क्यान्सर भएको पत्ता लागेको थियो ।
भूकम्प अघि कोरियन भाषा पढेर कोरिया जाने तरखरमा रहनुभएका घिसिङलाई भूकम्पपछि एकाएक पाक कला क्षेत्र जुर्यो । खासमा उहाँ त्यति बेला कोरियामा बिना सीप जानुभन्दा पाककला सिकेर जाँदा अझ सहज हुन्छ भन्ने लागेर यस क्षेत्रमा होमिनु भएको थियो ।
भूकम्प पछि सञ्चालन भएका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा सहभागी हुँदै गर्दा उहाँले रैथाने खानाको महत्त्व, बनाउने तरिकाबारे धेरै सिक्ने अवसर पाउनुभयो । त्यस लगत्तै उहाँले सीटीईभीटीमा भूकम्प प्रभावितलाई लक्षित गरी दिइएको तीन महिनाको खाना बनाउने तालिम पनि लिनुभयो । त्यसपछि भने खाना बनाउने इच्छा जाग्न थालेपछि उहाँले कलेजमा होटेल म्यानेजमेन्टको औपचारिक अध्ययन सकेर अध्यापन पनि सुरु गर्नुभयो । अस्ट्रेलियाबाट 'कुकिङ'को १८ महिने कोर्ससमेत लिएपछि उहाँ यसै क्षेत्रमा होमिनुभयो ।
खानामा लगाव, खानाबारे नै पढाउने पेसा भएपछि काभ्रेको भकुण्डेबेसीमा २०७६ सालमा आयोजित तामाङ फिल्म महोत्सवमा तामाङ खानेकुराकै मेन्यु बनाएर पस्किनुभयो । पछिल्लो समय सेफ एउटा प्रतिष्ठित पेसाको रूपमा परिचित बन्दैछ ।
खासगरि विदेशमा यही पेसामा लाखाैँ रुपैयाँ सहजै कमाउन सकिन्छ । तर उहाँ भने नेपालकै मौलिक खानाको अध्ययन गरेर नेपाली रैथाने खानालाई विश्व बजारसम्म पुर्याउने अभियानमा लाग्नुभयो । त्यसैले त २०७६ को असोज १५ गते १ सय १ दिनको नेपाली मौलिक खानपान खोज तथा अनुसन्धान यात्रा सुरु भयो । झापाको बिर्तामोडबाट सुरु भएको यात्रा पूर्व–पश्चिमदेखि महाकालीसम्म अर्थात् ६५ जिल्ला पुग्दै त्यहाँको रैथाने खानाको पहिचान, बनाउने तरिका सिक्दै, बनाउँदै र चाख्दै पुसको २४ गते बाँकेको नेपालगञ्ज पुगेर समाप्त भयो ।
नेपाली खानालाई विश्वसामु चिनाउन अनि जीवित राख्न किताब, भिडियो सामग्रीलगायत तयार गर्ने लक्ष्य थियो । त्यसका लागि दुई जना भिडियोग्राफर, फोटोग्राफर अनि एक जना सहयोगी लिएर सुरु गरेको त्यो यात्रामा सेफ घिसिङले ६ सयभन्दा बढी नेपाली खानाको रेसिपी, संस्कार संस्कृति अध्ययन गर्नुभयो । तीन सयभन्दा बढी भिडियो सङ्कलन गर्नुभयो । यो यात्राका लागि कुल ४० लाख खर्च भयो । सेफ बनेपछि धेरथोर कमाइ नभएको होइन, त्यसैबाट त २५ लाख रुपैयाँ रैथाने खानाको खोजीका लागि व्यक्तिगत खर्च गर्नुभयो । बाँकी ५ लाख रुपैयाँ सहयोग अनि १० लाख रुपैयाँ ऋण लिएपछि त्यो यात्रा पूरा भएको थियो ।
१ सय १ दिनको यात्राका क्रममा उहाँले दाङको थारु समुदायमा पुगेर बँदिया (कुखुराकाे खसी बनाएको भाले) को, कतै मुसाको त कतै च्याङ्ग्राको परिकार खानुभयो । जति समुदायमा पुग्नु भयो ती सबैको रैथाने खानाको परिकार बनाउने अनि चाख्ने (खाने) गर्नुभयो । पूरा भएको यात्राले खुसी दियो । आत्म सन्तोष दियो । राष्ट्रिय सञ्चारमाध्यममा समाचार आए । यही अध्ययनपछि उहाँलाई यूके, अस्ट्रेलिया र जर्मनीबाट कामका अफर आए । तर नेपालको खानालाई चिनाउने हुटहुटीले उहाँलाई ती अफर स्वीकार्न दिएन। बरु 'फूड टुर'का उपलब्धिलाई विश्वसामु ल्याउन पुस्तक लेख्ने तयारी थाल्नुभयो।
यो एउटा सपना थियो, जुन उहाँले पूरा गर्नुभयो । यसले उहाँलाई सन्तोष दियो । तर, स्वास्थ्यमा भने समस्या देखिन थाल्यो । समस्या पेटसम्बन्धी थियो, विस्तृत जाँच पछि चिकित्सकले त्यो एक सय एक दिनको यात्राका क्रममा थरिथरिका परिकार खाएकाले समस्या भएको बताए ।
अब अस्पताल धाउनु नियमित जस्तो बन्न थाल्यो । ८३ किलोको ज्यान सुक्दै जान थाल्यो । अस्पताल नियमित जस्तै धाइरहे पनि पेटको समस्या निको हुन सकेन, यसबिचमा पटक पटक शल्यक्रिया पनि भए ।
दसैँ आउनै लागेकाे बेला थियो । स्वास्थ्यले समस्या पारिरहेकै थियो । खाना पच्न छोडेपछि तत्काल अर्को शल्यक्रिया गर्दा पेटमा घाउ भेटियो । घाउ सामान्य घाउ मात्र थिएन । यो घाउले जीवनकै भयानक सत्य बाहिरियो ।
घाउ त क्यान्सर थियो । क्यान्सरसँग लड्ने जो कोहीलाई थाहा छ, यसलाई जित्न ठुलो साहस चाहिन्छ, अनि अर्को खर्च नभए क्यान्सरसँग कसरी लड्न सकियोस् । कसरी किन्न सकियोस् औषधि ? कसरी गर्न सकियोस् उपचार ? यसअघि गरिएका तीन ओटा शल्यक्रियामा मात्रै उहाँको ८ लाख खर्च भइसकेको थियो, औषधि अनि अस्पतालको खर्च गरी १५ लाख सकिइसकेको थियो । क्यान्सर पुष्टि भए यता किमोबाहेक २३ लाख खर्च भइसकेको छ ।
चिकित्सककाअनुसार क्यान्सरको उपचार अब एक वर्षसम्म नियमित गर्नुपर्छ अनि खर्च २५ देखि ३० लाख लाग्नेछ । अहिले १५ दिनमा १ पटक किमो दिँदा १ लाख २५ हजार रुपैयाँसम्म तिर्नुपर्छ । अर्थात् १ महिनामा साढे २ लाख ।
क्यान्सर पुष्टि हुनु अघि नै सीआईएनको स्टुडियोमा आउनु भएका सेफलाई एउटा प्रश्न थियो, विदेश जाने साेच के छ ? जवाफमा उहाँले भन्नुभएको थियो, ‘नजाने। केही वर्षपछि नेपाली खानपान चिनाउन, यसैबारे सिकाउन अनि यही पाक्ने होटल अनि रेष्टुरेन्ट खोल्न भने जानेछु । यूकेको भिसा २ पटक क्यान्सल गरेँ किन भने नेपाली खानपानबारे अझै भनेको जस्तो भएकै छैन ।’
अनि अर्को प्रश्न थियो, नेपालमा जसरी महङ्गी बढेको छ हरेक क्षेत्रमा तपाइँ आफै पनि अस्वस्थ हुनुभयो लाखौँ खर्च भयो, सकिन्छ नेपालमा स्तरीय जीवन बाँच्न ? जवाफ थियो ‘सकिन्छ ।’
तर अहिले यो आत्मविश्वास अस्पतालको बेडसँगै ढलेको छ । ‘क्यान्सरलाई जित्छु, क्यान्सरलाई जितेका रैथाने खानाका सेफ भनेर आफैँलाई चिनाउँछु ।’ उहाँ आफ्नो ढाडस दिनुहुन्छ । अहिले उहाँलाई समस्या परेको पैसाको हो, किनभने पैसा बिना उहाँको उपचार अघि बढ्न सम्भव छैन ।
दोलखाको शैलुङ गाउँपालिकाको ताम्चेतदुधपोखरीमा एक मध्यम परिवारमा जन्मिएका घिसिङका बुवा आमा बुढ्यौली अवस्थामा हुनुहुन्छ । दुई जना दिदी पछिका भाइ उहाँ, बुढ्यौली लागिसकेका बुवाआमाको एक मात्रै सहारा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अस्पतालको शय्यामा ढलिरहँदा आफन्त, साथीभाइको याद निकै आउने रहेछ । कोही भेट्न आए, सहयोग गरे अथवा अलि बढाएर सहयोग दिए मेरो उपचारमा सहयोग पुग्ने थियो नि ।’ ‘मैले पनि त मेरा रहरहरु भुल्दै, मेरो बा, आमा, दिदि, आफन्तको सपनालाई मार्दै अनि आफ्नो खुसी, समय, सबै देशलाई दिन्छु भनेर नेपाली खानाको खोज अध्ययन गरेँ ।
अब मैले मेरो जीवनलाई पूर्णरुपमा नेपाली मौलिक तथा रैथाने खाना र चौरासी व्यञ्जन स्वादलाई सुम्पेको छु । म बाँचुन्जेल मेरो हरेक समय, हरेक पल, हरेक दिन, हरेक क्षण नेपाली लोक परिकारका लागि रहनेछ,’ घिसिङ सहयोगको याचना गर्नुहुन्छ ।
अस्पतालको शय्यामा रहँदा कहिलेकाँही उहाँको मनमा आउने साेच ‘सायद त्यो अभियान सुरु नगरेको भए क्यान्सर लाग्दैन पो थियो कि ?’ आफू अस्वस्थ हुँदा अनि आर्थिक अभाव झेल्नु पर्दा कहिलेकाहीँ यस्तो साेच आए पनि आपूmले रैथाने खानाका लागि गरेको मेहनत सम्झिँदा गर्वले छाति फुल्छ, अनि रैथाने खानालाई विश्वभर पुर्याउने मनभित्रको योजनाले ज्यानलाई सन्चो भएको पनि महसुस हुन्छ ।
क्यान्सरलाई जितेपछि, अस्पतालको बसाइबाट छुटकारा मिलेपछि बाँकी रहेको जीवनमा रैथाने खानाको क्षेत्रमा गर्ने कामका योजना उहाँले अस्पतालबाटै बनाइरहनुभएको छ । भन्नुहुन्छ ‘म निको भएपछि मेरो बाँकी जीवनलाई रैथाने खानाको लागि कसरी प्रयोग गर्ने अनि म कसरी बाँच्ने र मलाई सहयोग गर्नेहरुको गुन कसरी तिर्ने, म सँग सबै योजना छन्, मैले आफैसँग बाचा गरेको छु सहयोगी मनलाई साक्षी राखेर कि ‘म एउटा क्यान्सरलाई जितेको सफल व्यक्ति अनि रैथाने सेफ बनेर देखाउँछु ।’ मलाई थाहा छ सहयोगी मनहरूको सहायताले म स्वस्थ हुनेछु ।’
उहाँले आफू स्वस्थ हुँदा रैथाने चुल्होको स्थापना गर्नुभयो जसले रैथाने खानाको मात्रै काम गर्छ । त्यस्तै अनलाइन नेपाली मौलिक पाक कला प्रतियोगिता (खाने कथा) को आयोजना, ह्याङला हस्पिटालिटीमार्फत नेपालका आदिवासी जनजातिहरूको पाक कला शब्द खोज सुरु, कोरोना कालमा विश्व साइकल यात्री र खाना यात्री मिलेर ‘भोक बाँडी खाउँ’ अभियान सञ्चालन, चौरासी व्यञ्जन कार्यक्रमको आयोजनासाथै टिभी सो सञ्चालन गर्नुभयो । त्यसैगरी खाद्य सङ्ग्रहालयको अवधारणा तयार हुँदै थियो भने हरेक सरकारी कार्यालयमा अनिवार्य रूपमा सत्कार विभाग राख्नुपर्ने मागसहित अवधारणा पत्र तयार पार्दै हुनुहुन्थ्यो ।
यसबाहेक सबैभन्दा ठूलो जिम्मेवारी एक सय एक दिनको त्यो यात्रामा सङ्कलन गरिएका रैथाने खानाको पहिचानसहितको पुस्तक अनि भिडियो सामग्री सार्वजनिक गर्न बाँकी नै छ । अस्पतालको शैय्यामा सहयोगको अपेक्षामा रहनु भएका रैथाने खाना अभियन्ता सेफ प्रेमलाल घिसिङलाई सबैको सहयोगको आवश्यकता छ । सेफ उठे पो रैथाने खानाका परिकारहरु जोगिन्छन् । पाक्छन् र चाख्न पाईन्छ । विश्वलाई चखाउन पाईन्छ ।
प्रेमलाललाई तपाइँ हाम्रो प्रेमपूवर्क सहयोगको खाँचो छ ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०, ११:०२