काठमाडाैँ । विशेष अदालतले संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती श्रृजना शाक्य तामाङबाट पाैने ३ अर्ब रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।
अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा इच्छाराजबाट एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैँया र उनकी श्रीमती श्रृजनाबाट एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैंया जरिवाना असुल्नुपर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । अदालतले इच्छाराजलाई ३ वर्ष र शृजनालाई डेढ वर्ष जेल बस्नुपर्ने फैसला पनि गरेको छ ।
यस्तै, सिभिल सहकारी घोटालाकै अर्का अभियुक्त केशवलाल श्रेष्ठविरुद्ध २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ जरिवाना र डेढ वर्ष कैद सुनाइएको छ ।
अदालतले जरिवाना असुलका लागि दोषि ठहरिएका व्यक्ति तथा मिना श्रेष्ठ, प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङका नाममा रहेको सम्पत्ति समेत जफत गर्ने फैसला गरेको छ । दोषी ठहर भएका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा प्रतिवादी उपर कसूर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने आदेश पनि गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध सजाय निर्धारण गरेको हो ।
गत माघ ७ गते विशेष अदालतले तामाङ दम्पती र अर्का प्रतिवादी श्रेष्ठलाई दोषी ठहर गरेको थियो । उनीहरूले सिभिल सहकारीमा बचतकर्ताले गरेको बचतको रकम आफूखुशी लगानी र अपचलन गरेको अभियोमा मुद्दा दायर गरिएको थियो । विभागले २०७९ भदौमा तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख र उनकी श्रीमती श्रृजनाविरुद्ध १ अर्ब तीन करोड बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०, १९:५१