रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका ३ र ४ नम्बर वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।
३३ केभी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ।
विद्युतिकरणको उद्घाटन गर्दै माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा मन्त्री वर्षमान पुनले औपचारिक रूपमा गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सम्भावना आउने बताउनुभयो । गाउँमा बिजुली आएसँगै दैनिक जनजीवन सहज हुनुका साथै उद्योग स्थापना गर्न सहज हुने उहाँको भनाइ छ । ‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उहाँले भन्नुभयो, अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’
विकासका काममा अति राजनीतिकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्ने बताउनुभयो ।
पुनले आफू ऊर्जा मन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विजुली पुगेकोमा अहिले ८० प्रतिशत घरमा बिजुली पुगेको र बाँकी घरमा पनि २ वर्षभित्र बिजुली पुर्याउने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतिकरणको काम तीव्र गतिमा भएको बताउनभयो । एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री, सुनिल स्मृति, थवाङ, गङ्गादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडामा विद्युतीकरणको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । केही महिना अघि मात्र लुंग्री गाउँपालिका१, रुण्टीगढी गाउँपालिका १ र ८, थवाङ गाउँपालिका ३, गङ्गादेव गाउँपालिकाको १ र ३ माडी गाउँपालिकाको १ र २, त्रिवेणी गाउँपालिकाको ६ नम्बर वडामा मा बिजुली बालिएको साहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०, १५:४५