काठमाडौँ । सङ्घीय संसद मातहतका ८ वटा संसीय समितिको बैठक आजका लागि बोलाइएको छ ।
हिजोबाट संसदको हिउँदो अधिवेशनको सुरुवात भएसँगै संसदीय समितिको छलफल बढाउन लागिएको हो । प्रतिनिधि सभा मातहतका ४ र राष्ट्रिय सभा मातहतका ४ वटा समितिको बैठक बोलाइएको छ ।
बिहान ११ बजेका लागि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि र महिला तथा सामाजिक मामिला समितिको छुट्टाछुट्टै बैठक बस्दैछ ।
साढे ११ मा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति र दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा मातहतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समितिको बैठक बिहान १० बजे, दिगो विकास तथा सुशासन समितिको बिहान ११ र सोही समयमा विधायन व्यवस्थापन समितिको बैटक पनि बस्दैछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८०९ को मस्यौदा पेस गरी छलफल गर्न लागिएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल हुने जनाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने छ भने दिगो विकास तथा सुशासन समितिमा भने नागढुङ्गा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०, ०९:३१