काठमाडौं ।
सुदुरपश्चिम प्रदेश सरकारले कृषिमा फरक योजना अगाडी सारेको छ । प्रदेशका सबै स्थानीय तहलाई पकेट क्षेत्र घोषणा गरिने भएको छ ।
प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुदुरपश्चिमका दार्चुला, बाजुरा र बझाङ्ग स्याउ र ओखर खेतिको लागि राम्रो सम्भावना बोकेको जिल्ला हो ।
हिमाली क्षेत्र स्याउ र ओखरको लागि राम्रो भएपनि तल्लो भेगमा भने तरकारी खेतिबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । तरकारी खेती गरिरहनु भएका किसान चक्रबहादुर साउद आफ्नो आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ।
बैतडी, डडेल्धुरा, डोटी र अछाम सुन्तला जातका फलफूल राम्रोसँग उत्पादन हुने क्षेत्र हो । कागति, अनार, सुन्तला लगाएतका फलफूल लगाउने हो भने किसानहरुले मनग्य आम्दानी गर्न सक्ने कृषि प्राविधिक बताउँछन् ।
बैतडी, डडेल्धुरा, डोटी र अछाम सुन्तला जातका फलफूल राम्रोसँग उत्पादन हुने क्षेत्र हो ।
यो क्षेत्रलाई सुन्तला जातको फलफूल पकेट क्षेत्र बनाउन सक्ने सम्भावना धेरै छ । कतिपय क्षेत्रलाई आलुको पकेट क्षेत्रको रुपमा घोषणा गरिसकिएको छ ।
आलुको पकेट क्षेत्र घोषणा भएसँगै अनुदान, बिउबिजन, औजार लगाएत बजारीकरणको पनि राम्रोसँग व्यवस्थापन गरिएकोमा किसानहरु खुशी छन् ।
डडेल्धुराका आलु उत्पादक किसान प्रकाशबहादुर ऐर आलुको पकेट क्षेत्र घोषणा गरेपछि स्थानीयको जीवन नै परिवर्तन भएको बताउनुहुन्छ ।
कैलाली र कञ्चनपुर आलु, मकै, गहुँको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना प्रदेश सरकारले बनाएको छ । प्रदेश सरकारले सुदुरपश्चिम प्रदेशको ८८ वटा स्थानीय तहमा सम्भावित बालीको पकेट क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ ।
सुदुरपश्चिम प्रदेशको तीनलाख हेक्टर जमीन खेती योग्य छ । अबका दिनमा सुहाउँदो बाली लगाउनको लागि प्रदेश सरकारले कसरी पकेट क्षेत्र विकास गर्न सकिन्छ भन्ने योजना अगाडी बढाएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता यज्ञराज जोशी बताउनुहुन्छ ।
कैलाली र कञ्चनपुर आलु, मकै, गहुँको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना प्रदेश सरकारले बनाएको छ ।
पकेट क्षेत्रहरु घोषणा गर्दा स्थानीय तहमा रहेका कृषि शाखामा भने समन्वय गर्नुपर्ने अछामको ढकारी गाउँपालिका कृषि शाखा प्रमुख कृष्णप्रसाद देवकोटाको भनाइ छ ।
प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नै नगरी कतिपय कार्यक्रम ल्याउँदा त्यस्ता कार्यक्रम दोहोरिने भएकाले यो कुरामा ध्यान दिन स्थानीय तहहरुले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
कैलालीको लम्किचुहा नगरपालिकाका उपप्रमुख टिका थापा भन्नुहुन्छ, ‘अन्न बालीहरु लगाउनको लागि यो क्षेत्र राम्रो छ । तर सिँचाई, औजारहरुको असुविधा छ । पकेट क्षेत्र घोषणा गर्दा यहाँ भएका समस्याहरुलाई पनि अध्ययन गर्नु आवश्यक छ ।’
प्रदेश सरकारले सुदुरपश्चिम प्रदेशको ८८ वटा स्थानीय तहमा सम्भावित बालीको पकेट क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ ।
प्रदेश सरकारले मकै, धान, आलु लगाएत सम्पूर्ण बालीको पकेट क्षेत्र बनाएर सुदुरपश्चिमको कृषि क्षेत्र विस्तारको योजना बनाईरहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेशको कुल जमीन मध्ये ५२ प्रतिशत जमिनमा मात्रै सिँचाईको सुविधा पुगेको छ । सम्भावित क्षेत्रहरुमा प्रदेश, स्थानीय सरकार र किसान समुहको समन्वयमा कृषि क्षेत्रको विकासबाटै अर्थतन्त्र बलियो बनाउन सक्ने सम्भावना सुदुरपश्चिम प्रदेशले बोकेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६, १०:०३