नोदनाथ त्रिताल
रेडियो मेरो स्कुल पढ्दादेखि कै साथी हो । मेरो मामाघरमा लाइसेन्स भएको पुरानो रेडियो देखे पछि मैले पनि घरमा बुबा आमासँग एउटा रेडियो किन्न अनुनय विनय गरेँ । कुरा २०५१ सालतिरको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उत्पादन गरी रेडियो नेपालबाट शनिवार प्रसारण सुरु गरेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न असाध्य रुचि लाग्यो । रेडियोले श्रोता क्लब गठन गर्न आव्हान गरेको सुनेपछि क्लब गठन गर्ने हुटहुटी बढ्यो ।
स्कुलमा टिफिन टाइममा कक्षा ८ मा पढ्ने आफ्ना साथीहरूलाई यसबारेमा जानकारी गराएँ । अनि म अध्यक्ष र अरू साथीहरू अन्य पदाधिकारी र सदस्य रहेको श्रोता क्लब गठन गरी हुलाकमार्फत इन्सेकको ठेगानामा पठाएँ । हामीले खोलेको मानव अधिकार रेडियो श्रोता क्लब दर्ता भएर आयो । यसपछि अरू दुई वटा क्लब पनि दर्ता भए । पछि धनकुटा जिल्लामा त्यस्ता क्लबको सङ्ख्या ४ दर्जन पुगेको थियो ।
बिदा हुने भएकोले शनिवार बिहानको मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको म नियमित श्रोता बन्न थालेँ । यही क्लबको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुन म २०५४ सालमा पोखरा गएँ । यो मेरो पहिलो जिल्लाबाहिरको यात्रा थियो । दोस्रो राष्ट्रिय सम्मेलनमा २०५५ सालमा नारायणगढ, चितवन गएर सहभागी भएँ । रोचक कुरा त के छ भने ती सम्मेलनमा सहभागी हुन रेडियो कार्यक्रमबाट प्रसारित सूचना सुनेर हामी घरभन्दा तीन घण्टा पैदल हिँडेर छ नं. बुधबारे भन्ने ठाउँमा रहेको पीसीओमा पुगेर काठमाडौँमा फोन गरेर सहभागीको नाम टिपाएका थियौँ । किनभने त्यति बेला हाम्रो गाउँमा एउटै पनि टेलिफोन सेवा समेत थिएन ।
एफ एम रेडियो खुल्दै गए पछि रेडियोको लत अझ विस्तारित भयो । समाचारमा एफ एम रेडियोले ल्याएको नयाँ र छरितोपन अनि साहित्यिक कार्यक्रमको विविधताले गर्दा रेडियोमा गजब गजबका कार्यक्रम सुन्न पाइन थाल्यो ।
२०५६ साल भाद्र ११ गतेदेखि प्रो–पब्लिकले असल शासन रेडियो कार्यक्रम प्रसारण सुरु गर्याैँ । त्यति बेलासम्म मलाई रेडियोको पुरै लत लागिसकेको थियो र घरमा किनेको दुईवटा ब्याट्री लाग्ने ठुलो रेडियोको सट्टा मैले एउटा मात्र ब्याट्री लाग्ने सानो हाते रेडियो किनिसकेको थिएँ । घरमा पढाई बिगार्छ भन्दै रेडियो सुनेर बस्न दिनुहुन्थेन । तर मैले शनिवारको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम र आइतबार बिहानको असल शासन रेडियो कार्यक्रम मात्र सुन्ने सर्तमा हाते रेडियो किनेको थिएँ । पढ्दै गर्दा सुटुक्क सानो भोल्युममा बिहान र साँझ सात बजेको समाचार पनि सुन्न मन लाग्थ्यो । घरमा लुकी लुकी रेडियो सुन्ने मेरो त्यति बेलाको बानी अहिले पनि मलाई झलझली आँखामा आइरहन्छ ।
असल शासन रेडियो कार्यक्रमले पनि श्रोता क्लब बनाउने भएपछि मैले २०५७ भदौ ११ गते आइतबार गाउँकै साथी मिलेर मेरै अध्यक्षतामा ११ सदस्यीय जनहित असल शासन रेडियो श्रोता क्लब गठन गरी हुलाकमार्फत पत्र पठायौँ । क्लब दर्ताको प्रमाणपत्र नै हुलाकबाट प्राप्त भएपछि हामीलाई भ्रष्टाचार विरुद्ध समाजमा आवाज उठाउने र खबरदारी गर्ने सङ्गठन जस्तो भूमिकामा क्लबलाई अगाडि सार्ने अवसर प्राप्त भयो । असल शासन भनेको के हो? किन भ्रष्टाचारविरुद्ध आवाज उठाउनु पर्छ? भनेर २०५८ कार्तिक महिनामा पहिलो पटक रेडियो श्रोता क्लबहरूलाई प्रो पब्लिकले विराटनगरमा दिएको तीन दिने तालिममा सहभागी हुने अवसर पाएपछि रेडियोकै आवाजको दुनियाँमा समाज परिवर्तनको आवाज बुलन्द गर्ने अवसर गाउँ गाउँबाट मिलेको थियो । त्यति बेलासम्म हाम्रो गाउँमा न बिजुली थियो, न टेलिभिजन पुगेको थियो । इमेल, इन्टरनेट त टाढाको कुरा टेलिफोन नै पुगेको थिएन । थियो त केबल रेडियो, अनि पत्राचार गर्ने माध्यम हुलाक । म अहिले पनि सम्झन्छु, त्यति बेलाको हुलाकको प्रभावकारिता र रेडियोको सूचना, समाचारको महत्त्व, जुन हाम्रो जीवनमा कोशेढुङ्गा नै भएको थियो ।
त्यसपछि मैले पनि साथीहरूलाई निरन्तर रेडियो श्रोता क्लब खोल्न र सङ्गठित हुन अभियान सञ्चालन गरेँ । धनकुटा जिल्लामा असल शासन क्लबको जिल्ला समन्वय समिति गठन गरियो । जिल्ला समन्वय समितिको अध्यक्षको जिम्मेवारी पनि पाएँ । पछि प्रो–पब्लिकको असल शासन कार्यक्रमको पूर्वाञ्चल संयोजक भएर पाँच वर्ष काम गरेँ । रेडियो कार्यक्रमको सन्देश लिएर म ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, सङ्खुवासभा, भोजपुरसम्म पुग्ने अवसर पाएँ । भ्रष्टाचारविरुद्ध रेडियोबाट आवाज उठाउँदा मलाई अनियमितता गर्ने, भ्रष्ट सोच र व्यवहार भएका समाजका कथित अगुवाहरूले गाउँ प्रवेश निषेधको धम्की दिएका थिए । रेडियोमा उनीहरूको समाचार बजेकै कारण आधा दर्जन पटक ज्यान मार्ने धम्की खानुपरेको छ । गाउँ छोडेर १५ दिन लुकेर बस्नुपरेको छ । भौतिक आक्रमणको सिकार बन्नु परेको तीतो अनुभव पनि लिएको छु । तर पनि समाज परिवर्तनको लागि सकारात्मक आवाज उठाउन पाउँदाको आनन्दले यी सबै बाधा व्यवधान र तीतो यथार्थलाई भुलेर रेडियोको आवाजको तागत र शक्तिको प्रशंसा गर्छु ।
रेडियो श्रोता क्लबले मलाई जीवनमै पहिलो पटक जागिरे बनायो । रेडियोको क्षेत्रमा वकालत गरेर नै मैले १२ वर्ष जागिरे जीवन बिताएको छु । रेडियो कार्यक्रममा जागिरे अभियन्ता हुँदा पनि नियमित रेडियो श्रोता भई नै रहेँ । रेडियोमा रिपोर्टिङ गर्ने कला सिकायो । मलाई नागरिकका आवाजको वकालत गर्ने पत्रकार बनायो । स्थानीय जनविश्वास साप्ताहिकमा उपसम्पादक भएर काम गर्ने मौका मिलायो । विभिन्न विषयमा लेख लेख्ने लेखक बनायो । रेडियो कार्यक्रमकै माध्यमबाट गाउँमा दर्जनौँ सार्वजनिक सुनुवाइ कार्यक्रम जस्तो जनसहभागिताको प्रभावकारी अभियानको सहजीकरण गर्दै नेतृत्व गर्न पाएँ । सुशासन र सूचनाको हकको तालिममा सहजकर्ताको भूमिका दिलायो । सरकारी कार्यालयमा अफिस टाइम अनुगमन, सूचनाको हकको निवेदन जस्ता अभ्यासले सहकार्य र द्वन्द्व दुवै चरण पार गरेर सार्वजनिक निकायमा पहुँच बढायो । धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, सुनसरी लगायत जिल्लामा सुशासन, सूचनाको हक, मानव अधिकार, युवा अधिकार, सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान लगायतको सुरुवाती बीजारोपण गर्ने श्रेय पनि पाएको छु । धनकुटा जिल्लामा ‘असल शासन’ को उपमा नै पाएको छु । यो सबै पहिचान र क्षमता विकासको आधार बिन्दु रेडियो नै हो । यदि मलाई रेडियाको लत थिएन भने यी सबै कुरा मेरो जीवनमा असम्भव नै हुने थिए होला तर रेडियोसँगको सारथि र लतले आज यस स्तरमा मेरो लागि सफलता सम्भव गरेको छ ।
मैले रेडियो धनकुटाबाट रेडियो कार्यक्रम सुशासनका कुरा करिब दुई वर्ष सञ्चालन गरेको छु । रेडियो भोजपुरबाट सूचनाको हकको कार्यक्रम आफैँ उत्पादन र प्रस्तोता भई काम अनुभव छ । त्यस्तै रेडियो नेपालबाट फ्रिडम फोरमको तर्फबाट २०७१ सालतिर सूचनाको हक रेडियो कार्यक्रम प्रसारण गरेको अनुभव पनि रहेको छ । सूचनाको हकको रेडियो तथा टेलिभिजन कार्यक्रमको संयोजन र सूचनाको हकको माग गर्ने र सूचना आयोगमा सबैभन्दा धेरै पुनरावेदन दर्ता गरेकोमा उत्कृष्ट सूचना मागकर्ताको रूपमा राष्ट्रिय सूचना आयोगले मलाई आ.व. २०७२–०७३ को सम्मान प्रदान गरेको थियो । थुप्रै रेडियो अन्तरवार्ता, अन्तर्संवाद कार्यक्रममा सहभागी भएको अनुभव पनि गरेको छु । धनकुटाको हिलेस्थित रेडियो लालीगुराँस एफएम स्थापना गर्न र रेडियोको नाम जुराउन साथीहरूसँग सहकार्य गरेको अनुभव पनि रहेको छ । मैले गाउँदेखि सिंहदरबारसम्म रेडियो अभियानमा पाइला टेक्ने मौका पाएको छु । जनताको घरदैलोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयसम्म जनतालाई सुसूचित गराउने अभियानमा हिँडेको छु । यसरी मैले निरन्तर दुई दशकभन्दा बढी रेडियोसँगै आवाजको दुनियाँमा रमाउने र जनताको पक्षमा वकालत गर्ने मौका पाएको छु जुन आफैँमा एउटा गर्व गर्न लायक विषय हो ।
रेडियो श्रोता क्लबमा प्रतिक्रिया लेखेकै कारण मलाई अहिले पनि केही पढेपछि, सुनेपछि केही लेखौँ, बोलौँ, आफ्नो भावना अरूलाई सुनाऔँ भन्ने चाहना ओतप्रोत भएर आउँछ । अहिले पनि म कान्तिपुरमा पाठक पत्र लेखिराख्छु । यो सबै रेडियोको देन हो । म अहिले जहाँ जुन जिम्मेवारीमा भए पनि मेरो चेतनाको स्तरको जग बसाउने माध्यम रेडियो नै हो । त्यसैले रेडियो मेरो जीवनको अभिन्न अङ्ग हो, र सधैँ मेरो सारथि भएर रहिरहने छ ।
रेडियोले कसरी युवालाई सङ्गठित गरेर समाज परिवर्तन र चेतना अभिवृद्धिका युवा शक्ति परिचालन गरेको छ भनेर रेडियो श्रोता क्लबको इतिहासलाई हेरेर विश्लेषण गर्न सकिन्छ । मानव अधिकार शिक्षा रेडियो कार्यक्रमले देशभर दुई हजार बढी श्रोता क्लबको सञ्जाल निर्माण गरेको थियो भने असल शासन रेडियो कार्यक्रमले साढे सात हजार बढी श्रोता क्लबको सञ्जाल निर्माण गरेको थियो । युवाको क्षमता विकास र समाजको ऐनाको रूपमा यथार्थ सूचना प्रवाह गरेर अधिकार र कर्तव्यको बारेमा रेडियोले विकास गरेको जीवन पद्धति नै अहिलेको नेपाली समाजको प्रतिविम्ब हो भन्दा अत्युक्ति नहोला । क्लबहरूको जिल्ला सञ्जाल, केन्द्रीय महासङ्घ निर्माण गरी संस्थागत वकालतको लागि रेडियो कार्यक्रमले ठुलो भूमिका खेलेका छन् । गाउँ–गाउँमा हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र शोषण दमनका विरुद्ध युवाहरूलाई एकजुट बनाएर आवाज उठाउँदा सामाजिक विकृति, विसङ्गति र कुरीतिहरू घटेका भएका छन् । सार्वजनिक निकायहरूमा भ्रष्टाचारविरुद्ध गरिएको खबरदारीले भ्रष्टाचार न्यूनीकरणका लागि मद्दत मिलेको छ । राजनीतिक परिवर्तन जस्तै समाज परिवर्तनका लागि रेडियोहरू नै परिवर्तनका वाहक बनेका छन् । सार्वजनिक निकायमा के, किन, कहाँ, कसरी, कहिले भनेर प्रश्न गर्ने आँट र साहस रेडियो कार्यक्रमहरूले दिएको छ । गाउँघरमा भएका ससाना विषय पनि रेडियो श्रोता क्लबमार्फत लेखेर पठाउँदा राष्ट्रिय स्तरको समाचारको विषय बन्नु आफैँमा गर्व गर्न लायक विषय हुने गर्दथ्यो । ठुलठुला भ्रष्टाचारका काण्ड पर्दाफास गर्न पनि रेडियोको अग्रणी भूमिका छन् ।
अन्त्यमा, प्रविधिले जति नै फड्को मारे पनि छापा माध्यमका पत्रपत्रिका, डिजिटल पत्रपत्रिका, वेबसाइट, अनलाइन, टेलिभिजन, युट्युब, फेसबुक, ट्विटर, भाइवर, वाट्सएप् जस्ता प्लेटफर्मको प्रयोग गरे पनि रेडियोको विकल्पमा ती कुनै हुनै सक्दैनन् । रेडियोको प्रभावकारिता यति धेरै छ कि मानिसले आफ्नो दैनिकीलाई नछोडीकन पनि रेडियोको नियमित श्रोता भइरहेको हुन्छ । काम गर्दै गर्दै कानमा रेडियो बजाउने हामी धेरै छौँ । रेडियो सुन्दै प्रात कालिन हिँडाइमा भेटिने धेरै जना छौँ । गाउँघरमा अहिले पनि ठुलो आवाजमा रेडियो बजाएर काम गर्ने क्रम चलिरहेकै छ । खाना बनाउँदै वा लेखपढ गर्दै पनि रेडियो हुन्ने लतिहरु बग्रेल्ती भेटिन्छन् । तीन दशक अगाडिको दुर्गम गाउँको स्कुले जीवन, क्याम्पस पढ्दाको परदेशी जीवन र हरेक दिन घरको काम गर्दै गर्दै गोजीमा रेडियो बजाएर नियमित श्रोता बनेको जीवनको अमुल्य अनुभव ताजै छ ।
हो रेडियोको स्वरूप पनि फेरियो । अहिले ठुलठुला रेडियो सेट कम भए होलान् तर कानमा इयरफोन घुसाएर मोबाइलबाट रेडियो सुन्नेहरू बढेकै छन् । देशभरि सयौँ एफएम रेडियोको स्थापना र प्रसारणले पनि रेडियोको लोकप्रियता घटेको छैन भन्ने देखाउँछ । रेडियो स्थापनाको शताब्दी पुरा भए पनि रेडियोको युग सकिएको छैन । समाज परिवर्तनको महत्त्वपूर्ण अङ्गको रूपमा रेडियो सञ्चारले भूमिका खेलेको छ, खेलिरहनेछ र भविष्यमा पनि रेडियोको उत्तिकै महत्त्व रहनेछ । आवाजको दुनियाँमा संसार बदल्न सक्ने माध्यम हो रेडियो । त्यसैले सिङ्गो समाजलाई समाचार र सन्देश दिने रेडियो प्रसारणको सय वर्ष पुरा भएको अवसरमा सम्पूर्ण रेडियोकर्मी र रेडियो श्रोताहरूलाई गर्वको विषय हुनु पर्दछ ।
रेडियो स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा सबैमा शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०, १९:५७