लम्की । कैलालीको लम्कीमा रहेको रेडियो पश्चिमआवाजले गएको पुस ५ देखि १६ गतेसम्म सञ्चालन गरेको सांस्कृतिक मेला तथा महोत्सवबाट करिब १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
रेडियोले पत्रकार सम्म्ेलन गरी महोत्सवको करिब डेढ लाखभन्दा बढीले अवलोकन गरेको जानकारी दिएको छ ।
महोत्सवबाट १६ लाख ३० हजार ८ सय ३८ रुपैयाँ बराबर बचत भएको मूल आयोजक समितिका उपसंयोजक तथा आर्थिक संयोजक दीपक कुमार तिमिल्सैनाले जानकारी दिनुभयो ।
‘अघिल्ला वर्षमा पनि रेडियोले महोत्सवको आयोजना गर्दै आएको थियो । तर यसपाली पोहोरकोभन्दा धेरै रकम उठेको छ । अघिल्लो वर्षको रकमले रेडियोको भवन बनाउन सुरु गरेका थियौँ । यसपालीको रकम पनि भवन निर्माणको काम सक्नमा उपयोग गर्ने सोँच बनाएका छौँ ।’ तिमिल्सैनाले भन्नुभयो ।
उहाँका अनुसार रेडियोको उपकरण खरिदमा पनि महोत्सवबाट उठेकको पैसा खर्च गरिनेछ भने केही रकम भूकम्प प्रभावितलाई दिने सहमति भएको छ ।
मेलामा राखिएका स्टल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलापका लागि लिइएको शुल्क, विज्ञापनका लागि राखिएका सामग्री वापत शुल्क लिइएको थियो ।
महोत्सवको १० लाख रुपैयाँ बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०, १०:०७