काठमाडाैँ । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’को विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक आइतबार पर्यटन बोर्डमा महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्व अध्यक्षहरू किशोर नेपाल, तारानाथ दाहाल, डा. महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धर्मेन्द्र झालगायतले विमोचन गर्नुभएको हो ।
पुस्तकमा नेपाल पत्रकार महासंघको नेतृत्व गरिसकेका वर्तमान र पूर्व गरी २३ जना अध्यक्षको जीवनी समेटिएको छ ।कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउँदै महासङ्घले पत्रकारिता र महासंघको योगदानसँग जोडिएका व्यक्तिलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रलाई सबल बनाउने गरी महासङ्घले काम गरिरहेको र महासंघसँगको इतिहासलाई मेटिन नदिने पनि बताउनुभयो ।
महासंघका पूर्व अध्यक्ष किशोर नेपालले यो पुस्तकले पत्रकार महासंघको इतिहास झल्काएको भन्दै गौरवशाली इतिहास भएको महासङ्घका कतिपय कुरा छुटेको भए समेट्दै र सच्याउँदै जानुपर्ने बताउनुभयो ।
महासंघका पुर्व अध्यक्ष हरिहर विरहीले महासंघको निर्माण, विकास र चुनौतीको सामना गर्ने क्रममा भोगेका अनुभव पुस्तकमा समेटिएको बताउनुभयो । सञ्चार माध्यमका कारण पत्रकारमा पछिल्लो समय जोस जाँगर कम दिएको बताउँदै यो चिन्ताको विषय भएको उहाँले बताउनुभयाे ।
पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रताका आवाज उठाउनेहरूको दस्ताबेज तयार हुनु खुसीको कुरा भएको बताउनुभयो । पुस्तकले पत्रकार महासंघसँग सम्बन्धित जानकारी खोज्न र अध्ययन गर्न सन्दर्भ सामग्रीको रूपमा काम गर्ने पनि उहाँले बताउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकार महासंघले महासंघसँग सम्बन्धित सबै खाले समस्या समाधान गर्नुपर्ने बताउँदै पुस्तकमा कतिपय विषय अधुरा गरेकाले थप विषय समेट्न आग्रह गर्नुभयो ।
प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष तथा पुस्तकका सम्पादक बालकृष्ण अधिकारीले पत्रकार महासङ्घले उपलब्ध गराएको पूर्व अध्यक्षहरूको नाम अनुसार जीवनी तयार पारेको बताउँदै यस पुस्तकले महासंघ र पत्रकारिताको इतिहासबारे जान्न मद्दत पुग्ने बताउनुभयो ।
यसैबिच आदिवासी जनजाती पत्रकार संघ फोनिजले भने पुस्तकमा महासंघको संस्थापक सभापतिमा सत्यनारायण श्रेष्ठको नाम नसमेटिएको भन्दै विरोध जनाएको छ । महासंघको इतिहास एकपक्षीय रुपमा समेटिएको र सत्य तथ्य विषयलाई ढाकछोप गर्न खोजिएकाले विराेध गर्नुपरेको फोनिजको दाबी छ । इतिहासलाई मेट्न खोज्ने प्रयास आपत्तिजनक भएको फोनिजका महासचिव मिलन लिम्बुले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०, १७:०६