दिलिप बान्तावा
रेडियो भन्नासाथ सुदुर बिगतमा पुगिहाल्छु। एउटा धमिलो सम्झनाले टाढैबाट मुस्कुराउँदै हात हल्लाइरहे झैँ लाग्छ। त्यो सम्झनामा छ धुवाँले कट्कटिएको एउटा मैलो कपडाको झोला जस्तो चिजमा पुटुक्क परेर घरको भित्ताको चोकेमा झुन्डिएको अचम्मको चिज। त्यो चिज त्यतिखेरै बोल्छ, त्यतिखेरै थरिथरि गीत गाउँछ। कस्तो जान्ने, कहिल्यै नथाक्ने, कहिल्यै भोक नलाग्ने त्यो अचम्मको चिजले मलाई यसरी आकर्षित गरेको थियो कि राती सुत्ने बेला बाहेक म त्यो अनौठो चिज झुन्डिएको साथीको घरमा नै बिताउँथेँ ।
त्यो चिजको नाम "रेड्डो" हो भनेर साथीले मलाई सुनाएको थियो। एक दिन स्कुलबाट फर्किँदै गर्दा उसैले सुनायो, "मैले त हिजु रेड्डोको मान्छेहरू देखेँ नि। ईत्रा ईत्रा हुँदा रान्।" मैले पत्याइनँ सायद या म मा ईर्ष्या जाग्यो कुन्नि। लागेको हुनुपर्छ मैलेभन्दा पहिले उसले थुप्रै नयाँ कुरा जानिसक्यो। "हो क्या, हिजु बाउले जम्मै खोलेर हेर्दैथेँ। अनि मैले नि हेरेको। तँ नि हेर्छस्?" उसले लोभलाग्दो प्रस्ताव गर्यो। म किन नहेर्ने भन्दो हुँला र!
हतार हतार उसको घर पुग्यौँ। साथीले ठुलो सिन्का जस्तो चिज हातमा लियो। भैँसीको छाला र बाँसको भाटाबाट बनाइएको मान्छे बस्ने मुढा भित्तामा लग्यो। त्यसमाथि चढेर चोकेमा उनिराखेको "रेड्डो" सरक्क निकाल्यो र भुईँमा राख्यो। "रेड्डो" ले लाईराखेको हिजो अस्तिको मैलो लुगा धोएर लाइदिएका थिए। त्यो दिन उस्तो मैलो थिएन। साथीले पहिला त्यो लुगा निकाल्यो। त्यहाँ भित्र पनि खैरो रङ्गको छाला जस्तै अर्को खोल रहेछ। खिटिक खिटिक पार्दै साथीले त्यो पनि खोलिदियो। अब साथीको "रेड्डो" नुहाउने बेलामा आमाले मलाई नाङ्गै बनाएको जस्तै नाङ्गै भयो। म भने एक टकले साथीको हात जता जान्छ त्यतै आँखा कुदाइरहेको थिएँ। एक प्रकारले लागिरहेको थियो, उसलाई कत्ती धेरै कुरा थाहा छ, जान्दछ। मलाई त केही पनि आउँदैन। म मनमनै खङ्ग्रङ्गै हुन्थेँ साथीको "सिप्लाई" हेरेर।
नाङ्गै भएको "रेड्डो"लाई भुईँमा लडाएर अघि हातमा बोकेको फलामे सिन्काले छेउ छेउमा घोच्न थाल्यो। एकै छिनमा भातको भाँडोबाट ढकनी झिके जस्तै साथीले "रेड्डो" को ढकनी झिक्यो र त्यहाँभित्रका मान्छेहरू देखायो। हेर्नू खोजेको मान्छेहरू, मान्छे जस्ता थिएनन्। स्कुलमा राई सरले बरु यी भन्दा राम्रा "मान्छे" बनाउँथे भन्ने सम्झेँ। कोही सुते जस्ता, कोही धान रोप्न झुके जस्ता, टाङ् फारेर बसे जस्ता, कोही उत्तानो, कोही घोप्टो परेका ती मान्छेहरू खासै राम्रा देखिएनन्। मन मरेर आयो। कस्तो रमाउँदै "रेड्डो" भित्रका मान्छे हेर्न आको त्यस्ता पो रैछन् भन्ने लाग्यो। "अनि बोल्दैनन् त खै!" खिन्न हुँदै साथीलाई सोधे थेँ। "ऐले आराम गर्दै छन् क्या। भरे बाउ आएपछि जम्मै उठ्छन् र बोल्छन्।" उसले यस्तो भन्दा लाग्थ्यो, उसका बाउ सबैभन्दा ठुलो र जान्ने बुझ्ने मान्छे हुन्।
साथीले ढकनी लगाउन थालेको मात्र के थियो, बले सीमा बाउ आउँदै गरेको पाइतालाको आवाजले नै थाहा भइहाल्यो। "अब मारे बा'ले" भन्दै हतार गर्न थाल्यो। यति नभन्दै उसका बा सिकुवामा पुगिहाले, हामीलाई देखे। के के कराए याद भएन तर साथीलाई नजिकैको सिर्कना टिपी राम्रै गरी सुम्ल्याए। म भने थामको अडेसा लाउँदै बिस्तारै आँगनमा निस्केँ र बेतोडले घरतिर दौडिएथेँ।
"रेड्डोभित्रका मान्छे" देखिसकेपछि पनि "रेड्डो" सुन्ने रहर मत्थर भए त के! गाउँका मान्छेहरू दसैँ-तिहार मनाइसकेपछि नागाल्यान्ड, आसाम जान्थे। वैशाख जेठभित्रमा फर्किसक्थे। तिनको बेडिङभित्र बाँधिएर वा काँधमा झुन्डिएर "रेड्डो" हरू गाउँ आइपुग्थे। केही दिनसम्म धुमचक्करै बजिरहन्थे। केही दिनपछि आवाज कम हुँदै जान्थ्यो। यसरी क-कसको घरमा रेडियो आइपुगेको छ भन्ने कुरा थाहा हुन्थ्यो। तिनै घरहरूको चक्कर लाउँदै "रेड्डो" सुन्ने तलतल मेटिन्थ्यो।
एक दिन “रेड्डो” मा गीत बज्दै थियो, "बिछोडको पीडा नसकी खप्न....।" फेरि उहीँ साथीले भन्यो, "थाहा छ तँलाई? यो गीत गाउने मान्छे त मरिसक्यो नि अस्ति अस्ति।" म अर्को खेप दङ्ग परेँ। मरेको मान्छे पनि बोल्ने, गीत गाउने? झट्टै मनमा आइहाल्यो, "हाम्रो बाउ पनि बोल्छन् त याँ?" स्कुलको कक्षा बढ्दै गयो, उमेर पनि उसरी नै बढ्दै जाँदा बल्ल मेरो त्यो प्रश्नको उत्तर थाहा भयो। साथै हामीले भन्ने गरेको "रेड्डो" को नाम रेडियो रहेछ। त्यहाँभित्र हामी जस्ता मान्छे नभएर अर्कै ठाउँमा बोलेर हावामा फ्याँकिएको आवाजलाई टिप्न सक्ने स-साना मिसिनहरू पो हुने रहेछन्।
रेडियोसँगको खास "दोस्ती" घरमा ठुलो रेडियो आएपछि बढेर गयो। एक दिन फिलिप्स ब्रान्ड रेडियो विद क्यासेट प्लेयर हाम्रो घरमा आइपुग्यो। सो रेडियो गाउँको लागि एक खालको समय सूचक नै बनिदियो। बिहान ५ बजेको शंख ध्वनिबाट सुरु भएर राती १०:५५ बजेको "श्रीमान गम्भीर नेपाली...." सम्म लगातार बजिरहन्थ्यो त्यो पनि पुरै गाउँले सुन्ने गरी। अचेल जस्तो भए त्यो ध्वनि प्रदूषण वा गाउँलेहरूलाई बाधा पुगेको भन्दै निहुँ खोज्नेहरूको भिड हुन सक्थ्यो।
हाम्रो घरमा त्यति बेला सोलार जोडिएकोले ब्याट्रीको चिन्ता थिएन। त्यो समयमा रेडियो कार्यक्रमहरुप्रति मान्छेको चासो हुन्थ्यो। सूचना र मनोरञ्जनको एउटै निर्विकल्प माध्यम रेडियो नै थियो। सायद त्यसैले कहिल्यै पनि त्यस्तो समस्या झेल्नुपरेन। हाम्रो घरमा आइपुगेको सो रेडियो र रेडियो कार्यक्रमहरू प्रतिको मेरो बढ्दो जिज्ञासा एकै खेप भेट भए।
त्यो समयसम्म रेडियो बज्नु भन्नु रेडियो नेपाल थियो। त्योबाहेक अरु कुनै पनि रेडियो स्टेसनको नामोनिशान केही सुनिँदैनथ्यो। कहिलेकाहीँ सर्ट वेभमा मिटर घुमाउँदा चाइँचाइँ-चुइँचुइँ आवाजसँगै कुनै विदेशी स्टेसन बज्न खोज्थे। सायद त्यस्तैमा अल ईन्डिया रेडियो पनि भेटिन्थ्यो क्यार। त्यसमा चाहिँ भारतीय सेनामा कार्यरत नेपाली "लाहुरे" हरुलाई लक्ष्यित गरेर कार्यक्रमहरू बजाइन्थ्यो। मैले ध्यान दिएर सुन्ने भनेको गीत बज्ने कार्यक्रम हुन्थे। विशेष गरी अनुरोध सङ्गीत। बिस्तारै गीतसँगै नाटकमा मन तानिन थाल्यो। हरेक शनिवार दिउँसो साढे एक बजे बज्ने नाटक नछुटाउन म बिहानको खाना खान साथ घाँस काट्न जङ्गल दौडिन्थेँ। तलको खोलापारि घाँस काटेर एक, डेढ घण्टाको उकालोमा हस्याङफस्याङ गर्दै घर आई पुग्थेँ। कहिलेकाहीँ पुरानै नाटक दोहोर्याइदिँदा भने खल्लो महसुस हुन्थ्यो। शनिवारको नाटक मात्र नभएर नाटकीय प्रस्तुतिमा बन्ने हरेक कार्यक्रमहरूमा म उत्तिकै लोभिन्थेँ। शाही नेपाली सैनिक कार्यक्रम, प्रहरी कार्यक्रम, बाल कार्यक्रम, कृषि कार्यक्रम लगायतमा गरिने नाटकीय प्रस्तुतिले मलाई काल्पनिक संसारमा विचरण गराइदिन्थे। ती नाटक सुनिसकेपछि त्यसको विषय र पात्रबारे निक्कै पछिसम्म पनि सोचिरहन्थेँ। सायद कल्पनाशील बनाउन मलाई ती नाटकले पनि मद्दत गरिदिए कि?
रेडियो, घरमा बसेका बखत मात्रै सुन्न पाइने। कतै जाँदा वा वन जङ्गल, मेलापात गर्दा सुन्न पाइएन। अब त्यता जाँदा पनि रेडियो सुन्ने लोभ लाग्न थाल्यो। त्यसका लागि छुट्टै रेडियो चाहियो। मसँग त्यो सम्भावना थिएन। त्यसै त्यसै मन खिन्न बनाउँदै जान्थेँ। दाइसँग भने सानो पुन्टे रेडियो भई रहन्थ्यो हमेसा। एक दिन आफूसँग भएको रेडियो त्यतिकै मिल्काएर नयाँ रेडियो ल्याउनुभएछ। घरमा कोही नभएको मौका पारेर फ्याँकिएको रेडियो कोठामा ल्याएँ। मिल्काइएकै "यासिमा" ब्याट्री राखेर चलाउन खोजेको स्याँ.... मात्र गर्यो। मिटर चलाउन खोजेको डोरी चुँडिएको रहेछ। घरको दलिनतिर खोजेर फलामको एउटा ठुलो काँटीको टुप्पो बन्चरोको पासोमाथि राखेर अर्को सानो बन्चरोले हिर्काएर चेप्टो बनाएँ। चेप्टिएको टुप्पोलाई पेचकस बनाएर रेडियोका पेच खोलेँ। चुँडिएको मिटरको डोरी मिलाएर गाँसेँ। एरियल जोडिएको ठाउँमा खुस्किएको रहेछ। बिजुलीको लुलो तार खुइल्याएर जोडेँ र त्यसलाई बाहिर निक्कै लामो बनाएँ। फेरि काँटी राखेर जोडेपछि रेडियो गज्जव बनिहाल्यो। अबदेखि मेरो आफ्नै रेडियो भयो। म जता गए पनि सँगै लिएर बजाउँदै हिँड्न पाउने भएँ। फुरुङ्ग भई गएँ। त्यति बेला कता कताबाट कान्तिपुर एफएम बज्न खोज्थ्यो। एरियललाई लामो बनाएर माथि लैजाँदा अझ राम्रो सुनिन खोज्थ्यो। अब ब्याट्रीको जोहो कसरी गर्ने भन्ने अर्को पिर आई पर्यो। ड्राई सेल बनाउने तरिका विज्ञान पढाउने सरले सिकाउनुभएथ्यो स्कुलमा। त्यही विधि अनुसार, टर्च लाईटबाट निकालिएका टाइगर ब्याट्री जति घाममा सुकाएर सात वटा जोड्न मिल्ने ड्राई सेल बनाएँ। घरमा बस्दा त्यही ड्राई सेल जोडेर बजाउने, बाहिर जाँदा यासिमा ब्याट्री प्रयोग गर्न थालेपछि ब्याट्रीको चिन्ता पनि सकियो।
मसँग व्यक्तिगत रेडियो हुन थालेको केही समयपछि एक दिन शनिवार सधैँ जस्तै नाटक सुनेर घरैमा बसिरहेको थिएँ। सायद घर कै केही काममा भुलिँदै थिएँ। ३ बजेको समाचारपछि अरु बेला भन्दा भिन्नै खाले जिंगल बज्यो रेडियोमा। ध्यान दिएर सुन्न थालेँ। दुईजना कार्यक्रम प्रस्तोता सुनिए, केटा र केटि। तर उनिहरु एकदम अनौपचारिक भाषामा बोल्दै थिए। हामी जस्तै सामान्य। एक आपसमा "तिमी" भन्दै थिए। रेडियोमा संचालकहरू बिच एक अर्कालाई तिमी भनेको सुनेकै थिइनँ मैले। त्यो नयाँ कार्यक्रमले पृथक् स्वाद लिएर आयो। कार्यक्रम थियो, "साथीसँग मनका कुरा" र मैले सुनेको त्यो पहिलो शृङ्खला थियो। त्यसमा पनि नाटक समावेश गरिएको थियो। युवालाई केन्द्रित गरेर बनाइएको त्यो सम्पूर्ण कार्यक्रम भर्खर युवावस्थामा प्रवेश गर्न लागेको मेरो लागि नै बनेको हो जस्तो लाग्थ्यो। नाटकका पात्रहरूसँगै म आफूलाई हिँडाउँथेँ। नाटकमा आफ्नै वरपरको घटना, साथीभाइ जस्ता लाग्ने चिजहरू हुन्थे। त्यहाँका पात्रहरूको सोच आफ्नै जस्तो लाग्थ्यो। यसरी मन पर्ने अर्को एउटा रेडियो कार्यक्रम थपियो। मैले पहिलो चोटि रेडियोमा चिठ्ठी पठाएँ "साथीसँग मनका कुरा" का नाममा। विभिन्न जिज्ञासासङै आफूलाई लागेका कुरा लेखेर पठाइरहन्थेँ। उताबाट कार्यक्रमको नाम लेखिएको स्टिकर, युवा वयकाले पढ्नै पर्ने विभिन्न खाले पुस्तक आइरहन्थेँ । एक पटक कार्यक्रमको स्टिकर छापिएको टी-सर्ट समेत आइपुगेको थियो। यस्तो उपहार मैले जीवनमा पहिलो पटक पाएको थिएँ। त्यति बेलाको त्यो आत्मिक खुसी भनि साध्य छैन। बिस्तारै कार्यक्रम प्रस्तोताहरू फेरिँदै गए, कार्यक्रमको प्रारूप पनि परिमार्जन हुँदै गयो। रेडियो नेपालका अलावा अन्य एफ एम स्टेसनहरूबाट समेत सो कार्यक्रम प्रसारण हुन थाल्यो। समय हुत्तिइरह्यो। समयसँगै त्यति बेलाको रुमानी युवा वय बिस्तारै अर्कै चरणमा पुग्यो। कार्यक्रमसँगको निकटता पातलिँदै गयो।
मैले पत्राचार गरेको अर्को कार्यक्रम थियो "इन्द्रेणी" । यसमा आफूलाई मन पर्ने साथी कस्तो हुनुपर्छ भन्ने लेखी पठाउनुपर्थ्यो। बिचार मिल्नेहरूले साथी बनाउन चिठ्ठी लेख्ने गर्दथे। खासमा विचारको कुरा प्राथमिक थिएन रहेछ, पछि थाहा भयो। मान्छेको स्वभाव नै हुन्छ, साथी बनाउने। सकेसम्म नयाँ ठाउँ, परिवेश र नयाँ अनुहारको मान्छेसङ्ग साथी बनुँ, यस्तै लागिहाल्छ। रेडियो नेपालले त्यति बेला यही मनोविज्ञानलाई बुझेर "पत्र-मित्रता" का लागि यो कार्यक्रम बनाएको थियो सायद। कलेज पुगेको सुरुवाती समयमा पठाएको मेरो चिठ्ठी कार्यक्रम प्रस्तोता अमर ध्वज लामाले वाचन गरेको सुन्दा हावामाथि उडे जस्तो लागेथ्यो। केही दिनपछि क्याम्पसको चिठ्ठी जम्मा हुने काउन्टरमा मेरो नाममा चिठ्ठी आउन थाले। प्रत्येक हप्ता दर्जन बढी चिठ्ठी आइपुग्थे। सबैलाई प्रत्युत्तर लेखी पठाउँथेँ। कतिले निरन्तरता दिइरहन्थे। कति बिचैमा हराउँथे। तर मेरो तर्फबाट भने कहिल्यै पनि पत्राचारको सिलसिला टुङ्ग्याइन । पत्र मित्रताको समय निक्कैसम्म रह्यो। मोबाइल फोनको बिस्तारसँगै क्रमशः पत्र मित्रताको महत्त्व घट्दै गयो क्यार। मसँग चिठ्ठीबाट जोडिएका साथीहरू पनि घट्दै गए र एउटा बिन्दुमा आएर शून्यमा पुग्यो। म पनि पारिवारिक, व्यवहारिक जिन्दगीमा अल्झिन थालेँ, लाग्यो सबै जना यसरी नै आ-आफ्नो जिन्दगीको लयमा बगिरहेका होलान्। पछि फेसबुकको समय आयो। त्यतातिर खोजी गर्दा केही साथीहरूसँग भेट त भयो, तर चिठ्ठीमा लेखिए जस्तो आत्मीयता भेटिएन। धेरैजसोसङ्ग त त्यता पनि भेट भएन।
२०६२/६३ को जनान्दोलनपछी बदलिएको परिवेशमा आम सञ्चारको पहुँच पनि बिस्तार भयो। देशब्यापी रूपमा "सामुदायिक रेडियो" र व्यापारिक एफएमहरू खुल्न थाले। फ्रीक्वेन्सिहरु बढे। स्रोताको लागि थुप्रै विकल्प थपिए। रेडियो नेपालको "एकलौटी राज" एक किसिमले सकियो। श्रोताको रोजाइमा पनि विविधता थपिए। एन्टेना फाउन्डेसनले "नेपाल चौतारी" नामक कार्यक्रम चलाउँथ्यो। देशभरमा थुप्रै रेडियोले एक साथ त्यो कार्यक्रम बजाउँथे। प्रत्यक्ष प्रसारण हुने सो कार्यक्रममा बोलाइएका अतिथिलाई फोन गरेर प्रत्यक्ष प्रश्न सोध्न पाइन्थ्यो। म नियमित सुन्थेँ यो कार्यक्रम। निक्कै पटक फोनबाट सहभागी पनि भएँ। प्रत्येक कार्यक्रममा प्रश्न सोध्नेहरू मध्ये एक जनालाई उपहार दिने चलन पनि थियो। नेपाल चौतारीले मलाई दुई पटक त्यस्तो उपहार दियो, घरैको ठेगानामा पठाइदियो हुलाकबाट। एन्टेना फाउन्डेसन र नेपाल चौतारीको नाम र लोगो छापिएको टिसर्ट थियो। त्यसरी उपहार पाउँदाको त्यति बेलाको खुसी सम्हाल्निनसक्नुको थियो।
यो पुस्ता यतिखेरको आधुनिक प्रविधि र परम्परागत प्रविधिको सङ्क्रमणकालीन पुस्ता हो भन्ने लाग्दछ। चिठ्ठी-पत्रमा आफ्ना कुराहरू लेखिपठाएर महिनौँसम्म प्रत्युत्तर पर्खिने त्यो समयदेखी अहिलेको इन्स्ट्यान्ट च्याटिङ्सम्मको अनुभव लिने मौका पाएका छौँ। कार्यक्रमको तालिका अनुसार रेडियो नेपालमा बज्ने गीत सुन्नुको विकल्प नभएको त्यो समयबाट आज आफूले चाहेको गीत, चाहेकै समयमा जहाँ बसे नि सुन्न मिल्ने समयमा आइपुगेका छौँ। केवल रेडियोमा काँटछाँट गरी मिलाएर सुनाइने नेता, कलाकार वा प्रतिष्ठित मान्छेहरूको जानकारी आजकल कच्चा स्वरूप मै आफ्नै हातमा हेर्न, पढ्न पाउँछौँ।
यसरी त्यो बेला प्रविधिको सबैभन्दा उन्नत चिज रेडियो, सूचना-मनोरञ्जनको निर्विकल्प माध्यम रेडियो नै थियो। यसले सिकाएको धेरै छ। सुनाएको, देखाएको धेरै छ। युवावस्थाको कुनै पनि सम्झनाहरू रेडियो बिना अपुरो, अधुरो रहन्छन्।
विश्व रेडियो दिवसको शुभकामना।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०, १९:५१