काठमाडौँ । अर्थमन्त्री डा प्रकाशसरण महतले देशभरका रेडियोलाई यसवर्षको नविकरणको जरिवाना वापतको रकम छुट दिनका लागि सञ्चार मन्त्रालयलाई सहमति दिइसको बताउनु भएको छ ।
१३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले ललितपुरमा गरेको कार्यक्रममा अर्थमन्त्री महतले जरिवानाको रकम छुटका लागि निर्णय गरेर पुस महिनामै लेखी पठाएको बताउनुभयो ।
उहाँका अनुसार नविकरणको जरिवानामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै छुटको व्यवस्था कार्यान्वय गर्नेछ ।
मन्त्रिपरिषद्मा उक्त विषय आएमा त्यसलाई पारित गर्नका लागि सकारात्मक भूमिका खेल्ने उहाँको भनाइ छ ।
समाज रुपान्तरणका लागि सामुदायिक रेडियोको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री महतले सामुदायिक रेडियोको सुरक्षा र संरक्षणका लागि आफू जहिल्यै पनि अग्र पङ्तिमा लाग्ने धारणा राख्नुभयो ।
रेडियोले तिर्दै आएको रोयल्टी छुटका लागि पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
अर्थतन्त्र सुधार हुँदै गएको दाबी गर्दै मन्त्री महतले स्रोतबिना पनि यसअघिको सरकारले जथाभावी कार्यक्रम घोषणा गरेका कारण राज्यलाई भार थपिएको टिप्पणी गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०, १४:२६