काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ९ गते ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले फागुन ९ गते काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेकका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माग पत्र बुझाउने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । राप्रपाले राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीका लागि दबाव दिनका लागि बृहत आन्दोलन गर्ने राप्रपाले यस अघि नै निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०, १६:४९