पाँच छ वर्षको हुँदा देखी नै रेडियो सुनेको मधुरो सम्झना छ । रेडियो नेपाल थियो त्यो ।
देशमा ‘नेपाल अधिराज्यको संविधान २०४७’ कायम अनि मुलुकमा राजाको शासन थियो । रेडियो नेपालले राजा र सरकारकै समाचारलाई उच्च प्राथमिकता दिन्थ्यो ।
रेडियोमा त्यस बेला तत्कालीन ‘शाही नेपाली सेना’ र ‘माओवादी’का समाचार धेरै आउँथे । त्यही समय देशमा १० बर्षे सशस्त्र युद्ध चलिरहेको थियो । हाम्रो घरमा एउटा ठुलो रेडियो सेट थियो। छिमेकी काका/बाजेहरू साँझपख प्रायः हाम्रो घरमा आउँथे । साँझ सात बजेको रेडियो नेपालको समाचार सुन्न ।
चिया पिउँदै समाचार सुन्नुहुन्थ्यो, ७ बजेको समाचार, घटना र बिचार अनि कहिलेकाहीँ भने राती ९ बजेको समाचार पनि सुनेर घरतिर लाग्नुहुन्थ्यो । त्यस बेला रेडियो नै राज्यमा हुने गरेका घटनाक्रम र गतिविधिको जानकारी दिने एउटै मात्र माध्यम थियो ।
मलाई भने कता कता यो रेडियो कसरी बोलिरहेको छ ? रेडियो नेपालमा समाचार वाचन गर्ने हरिशरण लामिछाने, पद्मराज कार्की, गोपाल बस्नेत, कोमल वली, पद्मराज कार्कीलगायतका मान्छे कस्ता होलान्? भन्ने जिज्ञासा हुन्थ्यो ।
कहिलेकाहीँ रेडियो बिग्रँदा बुवाले रेडियो सेट खोल्नुहुन्थ्यो, सेटभित्रका पाटपूर्जा देखाउँदै भन्नुहुन्थ्यो, यो कोमल वली..., यो गोपाल बस्नेत..., यो पद्मराज कार्की...भनेर । म पत्याउँथे पनि।
समयसँगै बुझिनबुुझी रेडियो सुन्ने बानी बस्यो । प्रसारण हुने हरेक समाचार, कार्यक्रम र साहित्यिक कार्यक्रम अझ बढी सुन्न थालेँ।
पाँच वटा विकास क्षेत्रमा रेडियो नेपालका क्षेत्रीय प्रसारण केन्द्र थिए । जसअन्तर्गत दिपायल प्रसारण केन्द्रबाट देउडा गीतहरू बज्थे। देउडाकै कार्यक्रम ‘हजारी माला’ त्यस बेला दिपायलबाट बज्ने लोकप्रिय कार्यक्रम थियो । म पनि नबिराई सुन्थेँ । लाग्थ्यो, यो रेडियोमा बोल्न पाए नि हुने.... । यसरी मभित्र रेडियो थियो । मेरो मन भित्र रेडियो थियो।
बिस्तारै जिल्लामै सामुदायिक रेडियो खुल्न थाले । डडेलधुरामा २०६४ सालमा पहिलो पटक सामुदायिक रेडियो प्रसारणमा आयो । त्यस बेला म ६ कक्षामा पढ्थेँ । त्यस बेलासम्म रेडियोबारे खासै जानकारी थिएन । मनमनै सोचेँ, हामी जस्तै मान्छे एउटा कोठाभित्र माइकमा बोल्छ होला, र कुनै प्रकारको प्रविधिले रेडियोसम्म जोडिएको हुन्छ होला भनेर ।
पछि जिल्लामै अन्य रेडियो पनि खुल्दै गए । बिस्तारै रेडियोको प्रसारण गाउँ बस्तीसम्म पुग्न थाल्यो । गाउँ बस्तीका आवाज रेडियोको माध्यमबाट प्रसारण हुन थाल्यो । एफएमहरूबाट प्रसारण हुने चिठी पत्रका कार्यक्रम र फोन ईन कार्यक्रमहरूमा सहभागी हुन थालेँ।
२०६७ सालमा डडेल्धुराबाट सामुदायिक रेडियो अमरगढी ९७ दशमलव ४ मेगाहर्ज प्रसारणमा आयो । छोटो समयमा रेडियो अमरगढी लोकप्रिय बन्यो । म जस्तै धेरै रेडियो अमरगढीका श्रोता बने। रेडियोमा प्रसारण हुने साहित्यका कार्यक्रम नछुटाई सुन्थेँ।
रेडियो सुनेर नै मैले गजल र मुक्तक लेख्न सिकेँ। रेडियो सुन्ने लत बस्यो । बिस्तारै लाग्न थाल्यो, रेडियोमै काम गर्न पाए पनि हुने ।
२०७० सालमा म १२ कक्षा पढ्दै गर्दा रेडियो अमरगढीमा कर्मचारी चाहिएको सूचना बज्यो।आवेदन दिएँ । छनौट पनि भएँ । मार्केटिङमा एक महिना जति काम गरेँ । विविध समस्याले पछि केही समय रेडियोबाट टाढा रहे ।
पुनः २०७६ असारबाट रेडियो अमरगढी एफएममै जोडिएँ र काम गरिरहेको छु । बजार व्यवस्थापन, रेडियो प्राविधिक, कार्यक्रम सञ्चालक हुँदै अहिले रेडियोमा समाचार लेखन र वाचनको जिम्मेवारीमा छु । यहीँबाट सीआईएनमा रिपोर्टिङ पनि गर्ने गरेको छु ।
रेडियोमा पहिलो चोटि ‘अन एयर’ जाँदाको सम्झना छ, बेलुका ५ बजे प्रसारण हुने ५ मिनेटको छोटो समाचार ‘अमरगढी खबर रफ्तार’ पढ्न गएको थिएँ। मनमा अलिअलि डर भए पनि रेडियो नियमित सुन्ने भएर होला बोल्न त्यति असहज भएन।
रेडियो अमरगढी लोकप्रिय थियो । लोकप्रिय रहेको थप पुस्ट्याइँ हरेक जसो फोन इन कार्यक्रममा आउने फोन र आम नागरिकले दिने प्रतिक्रियाले गर्छ । धेरैले आफ्नो गाउँ ठाउँमा भएका गतिविधि पनि समाचारका लागि टिपाउनुहुन्छ । हामी सकेसम्म सबै त्यस्ता सामुदायिक गतिविधिलाई समेट्ने गरेका छौँ ।
अहिले सामुदायिक रेडियोमा काम गर्दा समुदायसँग जोडिएर कार्यक्रम उत्पादन तथा समाचार सङ्कलन गर्दा गाउँका आवाज र समस्या मात्र होइन सम्भावनाहरू पनि रेडियोबाट आम नागरिक र सरोकारवालासमक्ष पुर्याउन पाइएको छ। यो मेरो लागि धेरै नै गर्वको कुरा हो । मजस्तै आम सामुदायिक रेडियोकर्मीका लागि पनि यो पक्कै खुसी र गौरवको विषय हो भन्ने लाग्छ मलाइ । रेडियोमा काम गर्दा धेरैसँग प्रत्यक्ष र अझ धेरैसँग अप्रत्यक्ष परिचित हुन पाएको छु । कहीँ जाँदा धेरैले चिनेर बोल्नुहुन्छ । त्यस्तो बेला अति नै खुसी लाग्छ ।
अहिले प्रविधिले रेडियोलाई चुनौती दिइरहे पनि गाउँमा अझै रेडियो नै खबरको प्रमुख मात्रै होइन, विश्वसनीय माध्यम बनेको छ । अहिले रेडियो सबैको पहुँचमा छ । गाउँघरमा पत्रपत्रिका पुग्न कठिन छ । अझै पनि गाउँतिर सबैका घरमा रेडियो बज्छन्, रेडियोका श्रोता धेरै छन् । सामाजिक सञ्जाल र कतिपय अनलाइनमा आउने समाचारभन्दा रेडियोमा आउने समाचार विश्वसनीय हुन्छ भन्ने श्रोताको प्रतिक्रिया रहने गरेको छ । ग्रामीण नागरिकका सुख दुःख रेडियोबाट प्रसारण गर्न पाउँदा थोरै भए पनि आवाज विहीनको आवाज हुन पाएको बोकेजस्तो लाग्छ ।
पहिले जसरी म र मेरो मनभित्र रेडियो थियो । आज म रेडियोभित्र छु । यो गजबको अवसर पाएकोमा म आफैँप्रति गर्व गर्छु । मलाई यो अवसर दिएको रेडियो परिवारलाई त जति धन्यवाद दिए पनि कमै हुन्छ ।
रेडियाको हरेक घटना परिघटनामा अत्यन्त महत्त्वपूर्ण भूमिका रहने गर्दछ । नेपालमा कोरोना प्रकोप सुरु भएर लकडाउन सुरु भएपछि रेडियोले खेलेको भूमिका अतुलनीय छ । त्यति बेला, कोरोना सङ्क्रमणको डर एकातिर थियो भने एकातिर सूचना प्रवाह गर्नुपर्ने दायित्व ।
कोरोना कालका बेला सन्देशमूलक रेडियो कार्यक्रम मात्र होइन, अमरगढी एफएमले सञ्चालन गर्ने हरेक फोन ईन कार्यक्रममा सरसफाइ र स्वास्थ्यका कुरा जोड्यौँ। जुन आम नागरिकलाई धेरै नै उपयोगी भएको उहाँहरू अहिले पनि बताउनुहुन्छ ।
कोरोनाको बेला रेडियोले चेतनामुलक जिङ्गल प्रसारण गर्यो, चेतनामुलक रेडियो कार्यक्रमहरू सञ्चालन ग¥यो । सचेतनाका सामग्री बजायो । स्थानीय, प्रदेश र सङ्घ सरकारको निरन्तर खबरदारी गर्ने काममा पनि रेडियो रह्यो ।
यति मात्र होइन रेडियोले बेलाबेला गाउँ टोलमै गएर नागरिकका कुरा सुन्छ । समस्यालाई सम्बन्धित निकायमा पुर्याएर समाधान गर्ने प्रयास गर्छ र त लोकप्रिय बनेको छ रेडियो ।
विनाशकारी भूकम्प, बाढी र पहिरोका घटना तथा विभिन्न रोगका प्रकोप फैलिएका ठाउँमा रेडियो नै विश्वासिलो माध्यमका रूपमा रहेको छ । तसर्थ पनि रेडियो अझै लोकप्रिय छ, विश्वसनीय छ ।
अझै पनि रेडियोले विकट गाउँका कुरा, विकट गाउँका आवाजलाई आफ्नो माध्यमबाट सम्बोधन हुने गरी प्रसारण गर्नु आवश्यक छ । रेडियोका आम श्रोता माझ अझै लोकप्रिय भइरहन र विश्वसनीय रहिरहन श्रोताको चाहनालाई प्राथमिकतामा राखेर रेडियोलाई आवाज विहीनको आवाज बनाउन सक्नु पर्छ ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०, १७:०८