म गृहिणी थिएँ, घरमा सबेरै उठेर ससुरा बुवालाई चिया पकाएर उहाँको कोठामा पुर्याउँदा रेडियो घन्कीरहेको हुन्थ्यो ।
रेडियोमा बोल्ने मानिसहरू जस्तै बोल्न सक्छु भन्ने लाग्थ्यो तर घरपरिवारको दायित्व, जिम्मेवारीमा पनि थिएँ ।
डडेल्धुरामा रहेको सामुदायिक रेडियो अरमगढी एफएमको ‘घरघरको आवाज, हाम्रो अमरगढी एफएम राम्रो’ बोलको स्टेशन आईडी अर्थात रेडियोको परिचय दिने उक्त लय र शब्दले मेरो तनमन नै लैजान्थ्यो ।
मलाई यो स्टेशन आईडी धेरै मन पथ्र्यो र अझैँसम्म पनि त्यो सम्झना मेरो मनमा ताजै छ । बुवालाई चिया दिइसकेपछि म फेरि त्यही स्टेशन आईडी दोहोराएर गाइरहन्थेँ, कसैले सुन्लान् भन्ने लाज र डर मनमा राखी ।
तर जब बाहिरतिर काम गर्दै म यो स्टेशन आईडी गुनगुनाइरहन्थेँ, तब बुवाले सुनीरहनु हुँदो रहेछ ।
एकदिन सबै घरमा बसीरहेको समयमा मेरो बुहारीको स्वर धेरै राम्रो छ, उसलाई रेडियोमा काम लगाउँछु भन्ने प्रस्ताव बुवाले गर्नुभयो ।
रेडियोमा भ्याकेन्सी खुल्दा आफै १५ सय रुपैँया दिएर मलाई रेडियोमा आवेदन दिन लगाउनुभयो । फस्वरुप म त्यो आवेदन दिँदा र ७ दिने तालिममा १७/१८ जनाको बीचबाट छनोट भएँ ।
छनोटमा परेको दिन घरमा खुसियाली छायो । सबै खुसी भयौँ। बुवाको सपना पूरा भयो ।
‘मेरो बुहारीलाई विश्वले चिन्छ ।’ भनेर ससुरा बुवा फुरुङग भएको देख्दा म आफै पनि खुसी र भाग्यमानी बुहारी महसुस गरेँ ।
रेडियो मेरो शिक्षक र गुरु हो, जिन्दगीको लामो यात्रामा बाटोमा भेटेको सुन्दर दृश्य हो । हिँड्दाहिँड्दै बाटोमा भेटेको कलकल बगिरहेको पानीको धारा हो । घामपानी नभनी कैयौँ माइल हिँडेपछि भेटिएको चौतारो हो ।
म अहिले जहाँ छु र जतिसम्म पुगेकी छु यो सबै मेरो बुवाको कारणले गर्दा हो भन्दा फरक नपर्ला ।
पछुतो यसमा छ, कि यो लेख लेख्दै गर्दा आज उहाँ हामी सामु हुनुहुन्न । उहाँलाई गुमाएको एक वर्षभन्दा बढी बितीसक्यो । तर उहाँले मेरो जीवनमा ल्याउन खेल्नुभएको भूमिका कहिल्यै बिर्सने छैन ।
‘म को हुँ र म भित्र के छ, के गर्न म सक्षम छु’ भनेर चिनाउन मेरो ससुरा बुवाको भूमिका सबैभन्दा धेरै छ ।
म कसैसँग बोल्न डराउने मान्छे, लाज मानेर बोल्नै नसक्ने मान्छे तर आज सबैसँग निर्धक्क भएर बोल्न र आफ्ना कुरा सबैसँग राख्न सक्ने भएकी छु । यसमा मेरो बुवापछि रेडियो अमरगढीको भूमिका पनि कम छैन ।
जब म रेडियोमा काम गर्नका लागि आएँ । त्यसबेलामा मेरो साढे तीन महिनाकी छोरी थिइन् । रेडियोमा बोल्ने र सिक्ने मेरो पनि चाहाना थियो । बिडम्वना मलाई कम्युटर चलाउनसमेत आउँदैनथ्यो।
तर रेडियोमा काम गर्ने मभन्दा पहिला आउनु भएका सहकर्मी साथीहरूले मलाई सहयोग गर्नुभयो ।
त्यसपछि म रेडियोमा बिस्तारै बोल्न र लेख्न सिक्ने भएँ । बच्चासँग काम गर्दा एक महिलालाई समस्या अवश्य हुन्छ तर त्यो समस्यालाई पार लगाउँदै मैले रेडियोमा अडिग भएर काम गरिरहेँ ।
म आफैँलाई गर्व गर्छु कि रेडियोले मलाई यहाँसम्म आइपुग्दा हरेक अफठ्यारो परिस्थितिमा साथ दिएको छ । अहिले रेडियोमा काम गर्न भन्दै नयाँ युवापिँढीहरू आउनेजाने गर्छन् ।
त्यो बीचमा आएका हरेक समस्याहरूलाई पार लगाउन रेडियो अमरगढीका स्टेशन म्यानेजर, प्रवन्धक सरको सहयोग पनि मैले पाएँ र आज, अहिले पनि म रेडियो अमरगढीमै छु ।
समाचार वाचकबाट अहिले समाचार प्रमुखको जिम्मेवारीमा आउँदै गर्दा यसमा मलाई निकै सहयोग गर्नुहुने मेरा अग्रजहरूमा मेरो नमन पनि छ ।
रेडियो अमरगढीले मलाई के दियो?
रेडियो मेरो शिक्षक र गुरु हो, जिन्दगीको लामो यात्रामा बाटोमा भेटेको सुन्दर दृश्य हो । हिँड्दाहिँड्दै बाटोमा भेटेको कलकल बगिरहेको पानीको धारा हो ।
घामपानी नभनी कैयौँ माइल हिँडेपछि भेटिएको चौतारो हो, जहाँ मैले सन्तोषका अनगिन्ती सास फेरेको छु, सुस्केरा फ्याँकेको छु, थकाइ मारेको छु ।
रेडियो अमरगढीले मलाई समाजदेखि विश्वसामु चिनिने मौका दियो । सायद म गृहिणी भएर बसेको हुँदोहुँ त अहिले मलाई मेरा परिवार, छिमेकीबाहेक कसैले चिन्ने थिएनन् ।
मलाई समाजमा भए, गरेका कुनै कुराको पत्तो हुने थिएन । समाजमा हरेक राम्रानराम्रा गतिविधि भइरहन्छन । तिनका अपडेट म दैनिक समाचारबाट विश्वसामु पुर्याउँछु ।
म आफैँलाई गर्व गर्छु कि रेडियोले मलाई यहाँसम्म आइपुग्दा हरेक अफठ्यारो परिस्थितिमा साथ दिएको छ । अहिले रेडियोमा काम गर्न भन्दै नयाँ युवापिँढीहरू आउनेजाने गर्छन् ।
लेखन शैलीलाई पहिले निखार्न जरुरी छ । जब हामी लेख्दै जान्छौँ तब फेरि पनि हामी अझ बढी लेख्न रुचाउँछौ र हामी बिस्तारै लेख्नमा अब्बल देखिन थाल्छौँ । त्यसपछि लेख्ने मान्छेलाई कुनै पनि ठाउँमा अवसर मिल्छ । त्यो अवसरबाट नै हामीले आर्थिक लाभ लिन सक्छौँ ।
तर जसरी तनमन लगाएर यस क्षेत्रमा प्रवेश गरियो अब छोड्ने मन मान्दैन। समाजमा भएगरेका र लुकेर रहेका कैँयौ यस्ता कुरीति र सकारात्मक पक्ष पनि छन्, जुन कुरा हामिले अझै बाहिर ल्याउन बाँकी छ ।
यसका लागि अझै हामीजस्ता रेडियोकर्मीहरूको लगनशिलता उच्च हुन जरुरी मान्छु ।
के महिलालाई चुनौती छ त ?
कुनै पनि काममा महिला, पुरुष भन्ने हाम्रो सोचाइ सर्वप्रथम गलत छ तर पनि पत्रकारिता पेशा जोखिमयुक्त र चुनौतीपूर्ण पक्कै पनि छ ।
जुन म आफै महसुस गरिरहेकी छु । पारिवारिक काम सकेर रेडियोमा बजाउने सामग्री निर्माण र कार्यक्रम भेट्न हामी महिलाहरूलाई भ्यानभ्याइ हुन्छ ।
तर यो पेशा जति जोखिमयुक्त र चुनौतीपुर्ण छ, उति नै रोमाञ्चक पनि छ । यसमा आर्थिक आम्दानी हुँदैन भनेर पलायन हुनेहरूको पनि कमि छैन ।
म भन्छु काम गर्न सक्नेलाई कतै पैसाको कमि हुँदैन । हामी कुनै पनि क्षेत्रमा लगनशील, इमान्दार, कर्मनिष्ट भएर लाग्न सक्यौँ भने हामीलाई पैसाको कमि हुँदैन।
यही क्षेत्रमै पनि विभिन्न लेख, स्टोरीहरु लेख्न सक्यौँ भने त्यसबाट पनि हामी आर्थिक आर्जन गर्न सक्छौँ ।
त्यसको लागि लेखन शैलीलाई पहिले निखार्न जरुरी छ । जब हामी लेख्दै जान्छौँ तब फेरि पनि हामी अझ बढी लेख्न रुचाउँछौ र हामी बिस्तारै लेख्नमा अब्बल देखिन थाल्छौँ ।
त्यसपछि लेख्ने मान्छेलाई कुनै पनि ठाउँमा अवसर मिल्छ । त्यो अवसरबाट नै हामीले आर्थिक लाभ लिन सक्छौँ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०, १४:२८