दिन ढल्दै गर्दा चारो खोज्न हिँडेका चराहरू बस्तीकै आकाश हुँदै गुँड फर्किरहेका छन् । तर नजिकैको बस्तीका अकली हजारालाई भने आफ्नो गुँड छोडेर हिँड्ने हतारो छ । आफ्ना १० सन्तानको गुँडको जोहो गर्न उहाँले चाहिँ गुँड छोड्नुपर्छ ।
बत्तीहरूले झलमल्ल सडकतर्फ पिठ्युँ फर्काएर अँध्यारोमा बसिरहेको छ एउटा दलित बस्ती । बीरगञ्ज पथलैया व्यापारिक मार्गको बिचतिर पर्छ छाता पिपरा । मुख्य सडकबाट झन्डै तीन किलोमिटर पूर्व छिरेपछि भेटिन्छ यो विपन्न दलित समुदायको बस्ती ।
अकल ४२ वर्षको हुनुभयो । परिवार बारामा छोडेर मजदुरीका लागि भैरहवा हिँड्ने तयारी गरिरहेकै बेला उहाँ भेटिनुभयो । मजदुरीको कमाइ, दिनको आठ सय रुपैयाँ हुन्छ । मजदुरी गरेर परिवार पालिरहेका उनै अकलीको नाम करोडौँ रकम कर छली गरेर फरार अभियुक्तको सूचीमा छ । सरकारका अनुसार उहाँले तीन करोड रुपैयाँ राजश्व बुझाउन बाँकी छ ।
६ बजेको टिकट लिइसकेका अकलीसँग धेरै बेर कुरा हुनै पाएन । २ गाँस खाना खाएर उहाँ परिवारसँग बिदा हुनुभयो ।
उच्च अदालतले अकलीको नाममा तीन पटकसम्म पत्र काटेको छ । पछिल्लो एक वर्षयता कुनै पत्र त आएको छैन । तर पत्नी रिता पासवानको मनमा चैन छैन ।
‘उहाँ बाहेक कमाउने अर्को कोही छैन । सरकारको कर तिरेन भने जेल जानुपर्छ भनेर गाउँका जान्ने बुझ्नेले सुनाएका छन् । कहिले को आउँछ र लिएर जान्छ भन्ने मात्रै चिन्ता छ’ शब्द नसकिँदै रिताका आँखा रसाए ।
आफू बसेकै जमिनमा पनि अधिकार बनाउन नसकेका उनीहरूलाई राज्यले करोडौँका मालिक ठानेको छ । ग्रामीण सडक पेटीमा ससाना झुप्रा बनाएर घाम पानीको ओत लागिरहेका करिब ४० परिवारको सो गाउँ अहिले राज्यको नजरमा ‘करोडौँ कर छलेर फरार अभियुक्तको बस्ती’ बनेको छ ।
तीनै अभियुक्तमध्ये एक हुनुहुन्छ, महन्थ महरा चमार । गाउँमै दैनिक ज्यालादरीमा गुजारा चलाउँदै आएका त्यही बस्तीका अकल र महन्थसहितका युवा राम्रो रोजगारी पाउने आसमा केही वर्ष पहिले राजधानी काठमाडौँ पसे । गतिलो परिश्रमिक दिने र काम लगाइदिने लोभमा अपरिचित एक व्यक्तिले उनीहरूलाई काठमाडौँ ल्याएर होटेलमा राखेका थिए । उनको पुरा नाम ठेगाना उनीहरू कसैलाई पनि थाहा छैन ।
‘दिनको ६/८ सय रुपैयाँले कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताइरहेका बेला रामो काम दिने भनेर ठुलै मान्छे आएको थियो’ महन्त भन्नुहुन्छ, ‘काम चाहिएको थियो, अरु केही सोधिएन, ‘सबै त काठमाडौँमा कमाउन जाने भन्छन्, त्यहाँ त सबैलाई काम मिलिहाल्छ भन्ने ठानियो तर..’ भन्दा भन्दै उहाँको गला अवरुद्ध भयो ।
जीवनमा पहिलो पटक राजधानी देखेका यी युवाले राजधानीमै बसेर काम गर्ने र परिवार पाल्ने सपना देखेका थिए । गाउँमा पुगेका उनै नयाँ व्यक्तिको साथ लागेर काठमाडौँ पसेकाहरूलाई यो परिवेश पुरै नयाँ थियो । त्यसैले उनीहरूले आदेशअनुसार नै काम गरिरहे । ‘राम्रो कम्पनीमा कुरा भएको छ भनेर नागरिकता माग्यो दिएँ, धेरै कागजमा सही गरायो सबै गरेँ । अनि पछि बोलाउँछु भनेर दुई दिनपछि बाटो खर्चसहित घर फर्काई दियो ।’ महन्तले उदास मुद्रामा बेलिबिस्तार लगाइरहनुभयो ।
काम पक्का भएपछि बोलाउने आश्वासन बोकेर खाली हात गाउँ फर्किएका उनीहरूलाई फेरि काठमाडौँ बोलाउन कोही आएन, न त कुनै खबरै आयो । कसैले किन आफ्नै खर्चमा काठमाडाैँ लगेर ल्यायो होला ? वर्षौँसम्म आफै अनविज्ञ महन्थलाई त्यस बेला राजधानी पुर्याईनुको उद्देश्य र जागिर लगाइदिन भन्दै मागिएको नागरिकताको दुरुपयोग भएको कुरा राज्यले गरी करोडौँ राजश्व छलीको भारी बोकाए पछि मात्र थाहा भयो ।
दैनिक ज्यालादारीमा काम गरी परिवारको दैनिक गुजारा टार्दै आएका महन्थको नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा चन्दन ट्रेडर्स नामको कम्पनी दर्ता छ र सो कम्पनीले सरकारको चार करोड ७५ लाख ८७ हजार सात सय ६३ रुपैयाँ ठगी गरेको छ । तर यो विषयमा कम्पनीका मालिक भनिएका महन्त आफै अनविज्ञ हुनुहुन्छ । ‘हामी गरिबसँग हजार रुपैयाँ हुँदैन हजुर, कागजमा लेखेको त्यत्रो पैसा मैले देखेको पनि छैन ।’ आँखाका डिलमा आएका आँसु पुछ्दै महन्तले भन्नुभयो, ‘सरकार छ भने मुक्ति दिलाइदिनुस् हजुर ।’
टाउकोमा करोडौँ कर छलेको अपजस लिएर उनीहरू परिवार पाल्न केही सय रुपैयाँका लागि मजदुरीमै फर्किएका छन् । प्राय बुढाबुढी, महिला र बालबालिका मात्रै भेटिने यो बस्तीका हरेकलाई जेलको त्रासले पल पल सताइरहन्छ ।
२८ करोड राजश्व छलीको अभियोग लागेका नजिकैको गाउँका उमाशंकर रायभर ११ महिना जेल बसेर केही वर्ष अघि रिहा भए । छिमेककै मुना चौधरी यही अभियोगमा कारागारमा छन् । यो दलित बस्तीका नागरिकलाई भने कारागारभन्दा बढी उकुसमुकुस डरको छ । अब राज्यले मुद्दा वारपार गरिदिनुपर्ने निर्मला पासवानको माग छ ।
निर्मला भन्नुहुन्छ, ‘मनमा कति बेला के हुन्छ भन्ने डर बाहेक छैन । कि त सरकारले तिमीहरू निर्दोष रहेछौ भनिदिए हुन्, कि लगाएको आरोपको छानबिन गरे हुने ।’
तीन वर्षअघि रिपोर्टिङका लागि सीआईएन पुग्दा पनि उनीहरू गम्भीर अपराधको अपजसबाट न्याय मागिरहेका थिए । अहिले पनि उनीहरूको बिलौना रोकिएको छैन ।
रोजगारीको लोभमा परेर ठगिएका अनि राज्यको नजरमा राजश्व छली गरेको अभियोग खेप्न बाध्य आफूहरूले यो अभियोगबाट छुटकारा कहिले पाउने हो ? उनीहरू सोधिरहेका छन्, तर सरकार बोलिरहेको छैन ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०, २०:०९