काठमाडौँ । ४ वर्षपछि हुने निर्वाचनको तयारीमा लागेका राजनीतिक दलहरूले आआफ्नो ढङ्गको बहस सुरु गरे पनि चुनावमा एक्लै प्रतिस्पर्धामा उत्रनुपर्नेमा भने सबैको एक मत जस्तो देखिन थालेको छ ।
२ दिनसम्म चलेको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकपछि भोलिदेखि महासमितिको बैठक आयोजना गर्दैछ ।
केन्द्रीय समितिमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी चुनावमा एक्लै लड्नुपर्ने विचारसहितको प्रतिवेदन पेश गरेँसैँग यस बारेमा महासमितिमा पनि छलफलको तयारी भएको नेता सञ्जय गौतमको भनाइ छ ।
काठमाडौँमा पार्टीको विधान सम्मेलनका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि कसैको बैशाखी नटेकी चुनावमा जानुपर्ने र त्यसका लागि रणनीति बनाइने बताउनुभयो ।
आफूहरू फेरि एक्लै प्रतिस्पर्धामा उत्रने गरी योजना बनाउने तयारीमा रहेको नेता गिरिराजमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लाएक्लै प्रतिस्पर्धा भए आफूहरूलाई फाइदा हुने दाबी गर्दै आएको छ ।
भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा यसबारेमा कुरा उठाउने तयारी नेताहरूको छ ।
दलहरूलाई एक्लै चुनावी प्रतिस्पर्धामा उत्रनका लागि मतदातामा बढेको चेतनाले दबाब दिइरहेको विश्लेषक डा राजेश गौतमको टिप्पणी छ ।
‘जनमतको विचार ख्याल गरेनन् भने प्रमुख भनिएका राजनीतिक दलहरू अर्को चुनाबाट बढारिने स्थिति आउन सक्छ । त्यसकारण पनि दलहरूले एक्लै चुनावमा जाने मनस्थिति बनाएको हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
राजनीतिक दलहरूले चुनाव र सरकार निर्माणमा गठबन्धन गर्दै आएका छन् ।
यसैका कारण दलको सिद्धान्तलाई बेवास्ता गरिएको, भागबण्डाका लागि भनेजस्तो काम गर्न नसकेको नेताहरूले बताउने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०, १०:२४