काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक शृंखलामा नेपाल नामिबियासँग फेरि पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल घरेलु मैदानमा नामिबियासँग २ विकेटले पराजित भएको हो । १ सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३८ औँ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाउनुभयो । यस्तै कुशल मल्लले ३६ र भीम सार्कीले २६ रनको योगदान गर्नुभयो ।
अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए पछि नेपालले पूरा ओभर पनि खेल्न पाउन । ओपनर कुशल भुर्तेलले १८, करण केसी १२, दिपेन्द्रसिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट हुनुभयो ।
बर्नार्ड शोल्ट्ज र जान निकोल लोफ्टी इटनले तीन तीन विकेट लिनुभयो । लिग टूको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०