काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो । उहाँ पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ ।
उहाँ सत्तारुढ नेकपा माओवादी निकट प्राध्यापकका रूपमा चिनिनुहुन्छ । पहिलो नम्बरमा सिफारिस गरिएका चित्रबहादुर बुढाथोकी पनि माओवादी निकट भएकाले कसलाई नियुक्त गर्ने भन्नेबारे माओवादी भित्रै एकमत थिएन ।
नेता वर्षमान पुन, देवेन्द्र पौडेल बुढाथोकीलाई उपकुलपति बनाउनुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री प्रचण्ड नै बरालको पक्षमा रहेको चर्चा हुने गरेको थियो ।
यस पटक सरकारले उपकुलपतिमा खुला विज्ञापन गरेको थियो । जसमा ४३ जनाले आवेदन दिएकोमा सिफारिस समितिले १४ जनाको सर्ट लिष्ट गरेको थियो ।उनीहरूमध्ये ४ वर्षीय कार्य योजना र अन्तर्वार्ताको आधारमा तीन जनाको नाम सिफारिस गरिएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको संयोजकत्वमा गठित छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए ।
त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०, १६:५६