काठमाडौँ । सरकारले सम्झौता कार्यान्वयन नगरे पछि मिटरब्याजी पीडितहरू पुनः न्याय माग्दै पैदल हिँडेर काठमाडौँ आइपुगेका छन् ।
उनीहरू झापाको काँकडभिट्टा र महेन्द्रनगरको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडौँ आइपुगेका हुन्। २३ दिनमा १ हजार १ सय ७५ किलोमिटर यात्रा गरेका उनीहरूले आज बिहान थानकोटको त्रिभुवन पार्कबाट मार्चपास गरेका थिए ।
काठमाडौँको भद्रकालीमा कोणसभा गरी आफ्ना पीडा राज्यलाई सुनाउने उनीहरूले बताएका छन् ।
सिंहदबारको गेटैमा पुगेर आफ्ना माग सुनाउन चाहे पनि प्रहरीले राष्ट्रिय सभागृहबाट अघि बढ्न नदिएपछि भद्रकालीमा कार्यक्रम गर्ने भएका हुन् । उनीहरूले गत वर्ष पनि पैदलै हिँडेर काठमाडौँमा आइ धर्ना बसेका थिए । त्यसपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेपछि उनीहरू घर फर्केका थिए ।
आयोगले सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सरकारले सुझाव कार्यान्वयन भइरहेको जनाएको छ । तर आफुहरुले न्याय नपाएको र अझै पनि मिटरब्याजीहरूबाट छुटकारा नपाएकाेले पैदल यात्रा गर्न बाध्य भएकाे उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०, १६:२४