काठमाडौँ । देशका विभिन्न ठाउँबाट २५ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।
हिजो पहिलो चरणको वार्तामा पीडितको मागका बारेमा सरकारी वार्ता टोलीका पदाधिकारीले जानकारी लिएका छन् ।
गृह मन्त्रालयमा साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज पीडितको माग आफूहरूले सुनेको सरकारी वार्ता टोलीका उपसचिव एकदेव अधिकारीले जानकारी दिनुभयो ।
पीडितको नेतृत्व गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि सच्याउनुपर्ने धारणा वार्तामा राख्नुभएको थियो ।
सरकारी वार्ता टोलीको नेतृत्व गरेका सह–सचिव रुद्रप्रसाद पण्डितले सरकारले गरेका व्यवस्था पीडितको समस्या समाधानका लागि पर्याप्त रहेको दाबी गर्नुभयो ।
आज बिहान ११ बजे छलफलमा बस्ने गरी हिजोको वार्ता सकिएको छ । सङ्घर्ष समितिका प्रवक्ता निर्ग नविनले सहमति नहुँदासम्म आन्दोलनलाई पनि जारी राख्ने निर्णय भएको बतउनुभयो ।
मिटरब्याज पीडितको न्यायका लागि भन्दै माघ १६ मा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५ सय र पश्चिमबाट नीर्ग नवीनको नेतृत्वमा २ सय जना पीडित पैदल मार्च गरेर काठमाडौँसम्म आएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०, ०९:०४