सल्यान । शैक्षिक गतिविधिलाई नमूनाको रूपमा सञ्चालन गरिरहेको सल्यानको निराजन माध्यमिक विद्यालयले विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप सिकाउन थालेको छ ।
सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ स्थित निराजन मावि ढोरचौरमा पशु विज्ञानतर्फ कक्षा १० का विद्यार्थीले अहिले पेडा, खुवा र दुधजन्य परिकार बनाउने सीप सिकिरहेको विद्यार्थी यमराज सुनारले बताउनुयभो ।
पाठ्यपुस्तक पढ्ने मात्र नभइ व्यावहारिक सीप सिक्दै क्षमता बढाउने क्रियाकलापमा संलग्न हुन पाएकोमा विद्यार्थी पनि खुसी छन् ।
दूधबाट बन्ने स्वादिष्ट परिकार पेडा र खुवा बनाउने सीप सिकेका ४८ जना विद्यार्थीले यसलगत्तै पनिर बनाउने विधि र प्रक्रियाका बारेमा व्यावहारिक ज्ञान पाउनेछन् ।
सबै कुरा किताबमा लेखेको पढेर मात्रै हुँदैन भन्ने निष्कर्षसहित प्रयोगात्मक कक्षालाई पनि प्राथमिकता दिइएको प्रधानाध्यापक धर्मराज घर्ती मगरको भनाइ छ ।
प्रयोगात्मक पढाइपछि विद्यार्थीमा मिहेनत गर्ने बानी र सीपको विकास भएको विद्यालयको भनाइ छ । त्यसअनुसार विद्यार्थीलाई विभिन्न अनुसन्धान केन्द्रमा शैक्षिक भ्रमणमा लग्ने तयारी पनि विद्यालयको छ ।
वैज्ञानीक चासो र रुचीका विषयमा खोजी गर्ने उद्धेश्यका साथ विद्यालयले केही महिनाअघि ‘निराजन साईन्स रिसर्च क्लव’ समेत गठन गरेको छ ।
सामान्यतया विद्यालयमा हुने गतिविधि पठनपाठन, शैक्षिक क्रियाकलाप र विद्यार्थी, शिक्षकको आउजाउ नै हो । तर पछिल्लो समयमा विद्यालयमा सीपयुक्त शिक्षामा जोड दिन थालिएसँगै विद्यालयका गतिविधि पनि फेरिन लागेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०, १०:२३