हाम्रा केहि नेताहरुलाई स्कुल विभागको नेतृत्व पाएपछि मैले आफ्नो हिसाबले सकुलिङ गर्छु र नयाँ विचारको ग्राउण्ड तयार गर्छु भन्ने लागेको हुनसक्छ । त्यसरी त पार्टी बन्दै बन्दैन । त्यसरी बन्ने भनेको गुट मात्रै हो ।
स्कूल विभागको नेतृत्वको जिम्मेवारी कस्लाई दिने भन्ने विषयले नेपाल कम्युनिष्ट पार्टी नेकपाको भित्र वैचारिक बहस शुरु भएको छ । यसले नेकपा एकताको दिगोपन माथि शंकाको सुविधा थपेको विश्लेषण पनि भईरहेको छ । नेकपा भित्रको पछिल्लो विवाद्, वैचारिक बहस कि पदीय भागबण्डाको अल्झन् ? साथी राजन रुचालले नेता घनश्याम भुसाललाई सोध्नुभएको छ ।
तपाईले स्कुल विभागको कुरा गर्नुहुन्छ भने यो जिम्मेवारीको कुरा हो । त्यहाँ सिद्धान्तको प्रश्न चाँही छैन । स्कुलको जिम्मेवारी कस्ले लिने भन्ने कुरा छ । तर त्यसका पछाडीको कुरा चाँही त्यस्तो हुनसक्छ । कि, भावी दिनमा विचारको कसरी ब्याख्या गर्ने भन्ने कुरालाई केन्द्र गरेर त्यसमा छिनाझप्टी भएको हुनसक्छ जस्तो लाग्छ ।
तर स्कुल विभागको नेतृत्वमा को आउने भन्ने कुराले नेकपाको भावी दिनको विचारको बहसलाई निर्दिष्ट गर्छ र ?
त्यो नहुनु पर्ने हो । त्यो एकदमै गलत कुरा हो । किन भने, जो सुकै हुँदा पनि उसले गर्ने भनेको त पार्टीले निश्चित गरेको विधी अन्तर्गत पार्टीले निश्चित गरेका एजेन्डाहरुमा स्कुल चलाउने हो । त्यसो गर्दाखेरी चाँही त्यहाँ व्यक्ति जो सुकै भएपनि हुनु पर्ने हो । तर त्यसका पछाडी चाँही, मलाई नै यो चाहिन्छ भनेर गरिने दाबी चाँही राम्रो विधी होईन । राम्रोसँग पार्टी चलाउने तरिका होईन ।
त्यसो भए देखि चिन्ता चाँही कहाँ निर होत ? स्कुल विभागको नेतृत्व गर्ने नेताको विचार पार्टीमा हावी हुन्छ कि भन्ने हो ?
त्यस्तो हुन्छ कि भन्ने चिन्ता चाँही हो । जब विधी कमजोर हुँदै जान्छ, व्यक्तिका इच्छा, आकांक्षा र संकल्पहरु हाबी हुँदै जान्छन् । विधी कमजोर पार्ने र व्यक्तिहरु अगाडी आउने एकखालको प्रवृति देखा पर्र्दैछ, यसले हाम्रा नेताहरुलाई त्यता तर्फ धकेलिरहेको हुनसक्छ । जुन कुरा गलत हो । यसैपनि पार्टीको स्कुल चलाउनका लागि बढि को योग्य हो भनेर, पहिले योग्यताको मापदण्ड तयार गरेर मान्छेको छलफल गर्न पाएको भए, मापदण्डले मान्छे खोज्थ्यो । अहिले त मान्छे खोज्ने त्यसपछाडी उसले मापदण्ड बनाउने विधीबाट हामी जान खोज्दै छौं, यो कुरा गलत भईरहेको छ ।
पूर्व एमाले र पूर्व माओवादी भित्रको विचारमध्य कुन विचारलाई स्कुल विभागले बोक्ने भन्ने कुराले पनि अप्ठ्यारो बनाएको हो कि भनेर शंका गर्न पाईने कि नपाईने ?
तपाईले भनेको कुरा साँचो हो । त्यसरी शंका गर्न सकिने ठाउँ बन्यो । किनभने यो बीचमा जसरी जनताको जनबाद भनेको के हो ? २१ औं शताब्दीको जनबादसँग कत्तिको मेल खान्छ अथवा जनताको बहुदलीय जनबादसँग कत्तिको मेल खान्छ भन्ने हिसाबले जुन कुराहरु बाहिर प्रचारमा आए । ति कुराहरु असाध्यै सतही रुपमा प्रचारमा आए । जसका कारण हाम्रा केहि नेताहरुलाई स्कुल विभागको नेतृत्व पाएपछि मैले आफ्नो हिसाबले सकुलिङ गर्छु र नयाँ विचारको ग्राउण्ड तयार गर्छु भन्ने लागेको हुनसक्छ । त्यसरी त पार्टी बन्दै बन्दैन । त्यसरी बन्ने भनेको गुट मात्रै हो । एकजनाको भाषामा भन्ने हो भने त्यसरी बन्ने गिराह मात्रै हो ।
जनताको जनबाद नेकपाको नयाँ सिद्धान्त वा विचार हो भनिसकेपछि जबज छोड्दैनौं भन्नेहरुलाई स्कुल विभागको नेतृत्व दिंदा झन् खतरा हुन्न र ?
हामी दुईटा ठुला स्कुलहरुबाट यहाँ आएका छौं । एउटा जबज र अर्को २१ औं शताब्दीको जनबाद् माओबाद भन्ने हो । यसका बीचमा आज हामी दुवैको सारलाई समेट्न सक्ने गरि जनताको जनबादको सहमतिमा पुगेका छौं । त्यसो हो भने हामीले त यसैलाई बुझ्नु पथ्र्यो । जनताको जनबादको ब्याख्यामा लाग्नु पथ्र्र्यो । त्यतापट्टी ध्यान छोडेर आ–आफ्नै सिद्धान्तका कुरा गर्नु राम्रो भएन । एकताबाट लिनु फाईदा लिईसकियो । सत्तामा पुगिहालियो, मन्त्री प्रधानमन्त्री बनिहालियो अब यो काम छैन भने जस्तो हुनजान्छ । यसरी यो पार्टीको इतिहासमा धोका हुन्छ । जनताका अगाडी गरिएको बाचामाथि धोका हुन्छ । यस्तो कच्चा काम हामीलाई गर्न सुहाउँदैन । यत्तिको जिम्मेवारी भएका पार्टीका नेताहरुलाई यस्ता कच्चा कुरा गरेर हिंड्न सुहाउँदैन भन्ने लाग्छ मलाई चाँही ।
घनश्याम भुसाल नेकपा भित्र विचारको बहसमा खरो उत्रिने नेता, वैचारिक नेतृत्व गर्ने नेता तपाईलाई स्कुल विभागको नेतृत्वका लागि चाहना भएन ?
मेरो चाहना छ । चाहना मात्रै वास्तबमा मेरो दाबी पनि छ । तर अरु साथीहरु चाँही त्यसका लागि जसरी लडभीड गर्दैछन्, यो लडाईले म आफैं जिल परिसकेको छु । मेरो भनाई, आजको स्कुलका एजेण्डा के हुन्, त्यसको प्रक्रिया के हो, भनेर छलफल गरौं । म त्यसको ब्याख्या गर्छु । मैले ब्याख्या गरेको एजेण्डा र प्रक्रियाले पार्टीलाई ठिक ठाउँमा पुराउँछ भन्ने लाग्छ भने म नेतृत्व लिन तयार छु । यदि अर्को कोही कमरेडले मेरो भन्दा राम्रो गर्छु भन्नुहुन्छ भने स्कुल विभाग उहाँले चलाउनुहुन्छ । मेरो दाबी यता तिर हो । तर अहिले विषय मेरो दाबी भन्दा अन्तै गएको छ ।
तर त्यो प्रतिस्पर्धामा तपाईको आवाज त निकै सानो सुनिएको छ । किन ?
विचारको कुरामा बलियो हात्तीले जितेको जस्तो होईन । अहिले जसरी हामी निर्णय गर्दैछौं । जसरी सोंच बनाउँदैछौं, यो सोंचबाट राम्रो स्कुलिङ हुँदै हुँदैन म ढुक्क छु । अहिले सोंचले बनाउने पार्टी भनेको पार्टी हुँदैन, गुटै मात्रै हुन्छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६, १७:२५