डडेलधुरा । सुदूरपश्चिमका बैतडी, डडेलधुरा, बझाङ र डोटीबाट भारत आवतजावत गर्ने सीमावर्ती झुलाघाटमा पक्की पुल नबन्दा समस्या भएको छ ।
पक्की पुल बनाउन सपना बाँडिएको करिब ४० वर्ष भए पनि अहिलेसम्म पनि झोलुङ्गे पुलकै भरमा आउजाउ गर्नु परेको स्थानीयवासीको गुनासो छ ।
झुलाघाट मात्रै नभइ सुदूरपश्चिमको डडेलधुरा र बैतडीका सीमावर्ती दर्जनौँ ठाउँका स्थानीय काठे डुङ्गाकै भरमा भारत आवतजावत गर्ने गरेका छन् ।
बैतडीसँग जोडिएकोे सीमा क्षेत्रमा पक्की पुल बनाउने भन्दै हरेक निर्वाचनमा राजनीतिक दल र नेताहरूले आश्वासनसहितको भाषण गर्ने गरेका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल भारत पुग्दा पनि झुलाघाटमा पुल बनाउने सम्झौता भएको थियो ।
तर त्यो सम्झौतामै सीमित हुनु आफूहरूको लागि पीडादायी विषय भएको दशरथचन्द नगरपालिका बैतडीका दुर्गा जोशीले बताउनुभयो ।
डडेलधुरा जिल्लाकै ६० हजारभन्दा बढी जनसङ्ख्या रहेको जोगबुढा, आलिताल, शीर्ष र रुपाताल क्षेत्रको महाकाली नदीसँग भारतको सीमानामा कुनै पनि पुल छैनन् ।
भित्री मधेश क्षेत्रका जोगबुढा, आलिताल, शीर्ष र रुपालका बासिन्दाले ट्युब र काठे डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
महाकाली नदी तर्न खोज्दा पाँच वर्षमा यस क्षेत्रका १५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्ला १० वर्षमा सरकारले महाकाली नदीमा चारवटा पुल बनाउने घोषणा गरे पनि कुनै प्रगति नभएको नागरिकको गुनसो छ ।
डडेलधुरा र बैतडीका आधा दर्जन ठाउँबाट महाकाली नदीमा स्थानीय बासिन्दा ट्युब र काठेडुङ्गामा आवतजावत गर्दै आएको बताउँदै पर्शुराम नगरपालिका डडेलधुराका शेरसिंह मालले बताउनुभयो ।
पाँच वर्ष पहिले सरकारले नेपाल–भारत जोड्न पुल निर्माण गर्ने भन्दै सर्भेसमेत गराएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०, ११:०९