सुर्खेत । कात्तिक १७ गतेको जाजरकोट भूकम्पपछि प्रभावितको मानसिक स्वास्थ्योपचार तथा समस्या पहिचानमा कर्णाली प्रदेशको मानसिक स्वस्थ्य नीतिले सकारात्मक प्रभाव पारेको सरोकारवाला निकायले निष्कर्ष निकालेका छन् ।
सातमध्य सबैभन्दा पहिला कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति करिब १ वर्षअघि बनाएको थियो ।
जाजरकोट भूकम्प प्रभावितको मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा अनुसन्धान, निदान तथा उपचारमा रणनीति अनुसार अघि बढ्दा सजिलो भएको सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायलाई पनि मानसिक स्वास्थ्य रणनीति अनुसार परिचालन गरिएको छ ।
‘भूकम्पको भोलिपल्टैदेखि सीएमसी नेपालको टोली प्रभावितको सम्पर्कमा पुग्यो । सरकारले गर्नुपर्ने काम गैरसरकारी निकायबाट हुनु खुसीको कुरा हो ।’
मानसिक स्वास्थ्यसम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन अवस्थाका बारे जानकारी लिन लुम्बिनी, गण्डकी र मधेश प्रदेश सरकारका मन्त्रीसहितको टोली कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको छ ।
आयोजित कार्यक्रममा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा वरिष्ठ चिकित्सामनोविद् डा पशुपति महतले मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्यको आवश्यकता औँल्याउनुभयो ।
सीआईएनसँग कुरा गर्दै सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले भूकम्पपछि मानसिक स्वास्थ्य समस्याको पहिचान, रोकथाम अनि जनशक्ति परिचालनका लागि मानसिक स्वास्थ्य रणनीतिलाई आधार बनाइएको बताउनुभयो ।
उक्त नीति निर्माणका लागि आफूहरूले प्राविधिक सहयोग गरेका कारण पनि नीति कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वयको काम राम्रोसँग हुन सकेको उहाँको भनाइ छ ।
‘बनेको नीति कार्यान्वयन गर्दै जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितको मानसिक स्वास्थ्य समस्या समाधानका लागि स्थानीय शिक्षक, सरकार र तालिम प्राप्त जनशक्तिबीच तालमेल हुन सक्यो ।’ प्रादेशिक संयोजक गैरेले थप्नुभयो ।
सिकाइ आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले कर्णाली प्रदेशले मानसिक रोग निवारणका लागि सुरु गरेको पहल उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने धारणा राख्नुभयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानालले मानसिक रोग लुम्बिनी प्रदेशमा पनि चुनौतीको रुपमा रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्या समाधानका लागि तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने र कर्णालीले गरेको कामको सफल अभ्यास आफूहरूका लागि पनि सिकाइको विषय भएको धारणा रपाख्नुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मानसिक स्वास्थ्य सवलीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै रणनीति बनाउने योजनामा आफूहरू रहेको सुनाउनुभयो ।
कर्णालीले गरेको सकारात्मक प्रयोग र अभ्यासलाई आगामी दिनमा पनि आफूहरूले सिकाइका रुपमा लिने उहाँको भनाइ छ ।
स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बास्कोटाले स्वीस सरकार सङ्घीयतालाई सबल बनाउन नीति, नियम निर्माण र कर्यान्वयनका लागि भविष्यमा पनि सहयोगी भूमिकामा रहने प्रतिबद्धता जनाउनुयभो ।
कार्यक्रममा विचार राख्दै स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बास्कोटा ।मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना २०७९ चैत्र २६ गते तत्कालीन सामाजिक विकास मन्त्री टेकराज पछाईले स्वीकृत गर्नुभएको थियो ।
यससम्बन्धी समाचार सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०