काठमाडाैँ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याललाई सपथ ग्रहण गराउनुभएको हो । तीनै जना मन्त्रीको मन्त्रालय भने टुङ्गो लगाउन बाँकी छ ।
विपक्षमा रहेका नेकपा एमाले, र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धन बनाउनुभएको हो । यसअघिको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नयाँ गठबन्धनमा पनि कायमै रहेको छ । तर आज जसपाको तर्फबाट भने कसैलाई पनि मन्त्री बनाइएको छैन ।
सत्ता गठबन्धनबिच मन्त्रालयको बाँडफाँटबारे कुरा मिलिसकेको छैन । यसको टुङ्गो लगाउन एमालेका विष्णु पौडेल, माओवादीका बर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादव रहेको समिति बनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०, १८:०५