हेटौँडा । केन्द्रको सत्ता समीकरण बदलिएसँगै वाग्मती प्रदेश सरकारबाट कांग्रेस पनि बाहिरिने भएको छ ।
केन्द्रको गठबन्धन भत्किएपछि प्रदेश सरकारमा बसिरहनु उचित नभएको कारण प्रदेश सरकारमा रहेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिन लागेको कांग्रेसका नेताहरूले जनाएका छन् । काम लिएर काठमाडौँमा पुगेका मन्त्रीहरू पनि सामूहिक राजीनामा का लागि हेटौँडा पुगेका छन् ।
१२ सदस्यीय प्रदेश मन्त्रीपरिषद्मा कांग्रेसका ६ मन्त्री छन्। कांग्रेसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशी हुनुहुन्छ ।
अर्थ मन्त्री बहादुर सिंह लामा र खानेपानी मन्त्री तीर्थबहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री बन्नुभएको हो । यस्तै वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त हुनुभएको हो । कांग्रेस बाहिरिएपछि वागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्। एमालेका २७ र माओवादीका २१ जना सांसद छन्।
सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक हुन्छ। एमाले र माओवादीका ४८ सांसद हुन्छन् । सरकार बनाउन राप्रपाकाे समर्थन जरुरी छ । यस्तै राप्रपाका १३ जना रहेकोमा १ जना सभामुख रहेका छन् । नेकपा एसको ७ र हाम्रो नेपाली पार्टीका २ सांसद पाउँदा ५७ जनाको समर्थन हुन्छ । अर्कोतिर कांग्रेसले राप्रपा नेकपा एस लगायत दलसँग गठबन्धन गरेर सरकारका लागि बहुमत पुर्याउन सक्ने सम्भावना पनि छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०, १०:२९