काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आ आफ्नो तर्फबाट बन्ने मन्त्रीको नाम टुङ्गो लगाएका छन् । एमालेले रघुवीर महासेठको नेतृत्वमा ६ जना मन्त्रीको नाम तय गरेको हो । महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने एमाले नेताहरुले बताएका छन् । महासेठ यसअघि पनि उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री बन्नुभएको थियो ।
एमालेले दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्री बनाउने भएको छ । यसअघि एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने चर्चा चले पनि अर्थ मन्त्रालय माओवादीले आफैँसँग राख्ने भएपछि एमाले महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो । अधिकारी बाहेक सबै यसअघि मन्त्री भइसकेका नेताहरु हुन् ।
यस्तै माओवादी केन्द्रले तीन जना मन्त्रीलाई यथावत राखेर २ जना नयाँलाई मौका दिने भएको छ । नारायणकाजी श्रेष्ठलाई परराष्ट्र वा रक्षा मन्त्री बनाउने भएको छ भने शक्तिबहादुर बस्नेतलाई उर्जा र रेखा शर्मालाई सञ्चार मन्त्रालयमा निरन्तरता दिने भएको छ । यसअघि शपथ लिइसकेका हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने वर्षमान पुन अर्थमन्त्री बन्नुहुने भएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्री बन्ने तय भएको छ । यस्तै उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन् । यसैगरी सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधी र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने निर्णय गरिएको रास्वपाले जनाएको छ । सभापति लामिछाने र उपसभापति अर्यालले यसअघि पनि क्रमशः गृह र श्रम मन्त्री बन्नुभएको थियो । मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०, १५:१४